Thursday, October 20, 2011

सरकारी कर्मचारीसहित २६ जुवाडे खालबाटै समातिए

ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक ३ - चार सरकारी कार्यालयका ६ कर्मचारीसहित २६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चौतारास्थित व्यक्तिको घरम गोप्य रुपमा सञ्चालित जुवा घरबाट जुवा र ८४ हजार रुपैयाँ नगदसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जुवातास नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत छन्।

सरकारी वकिलको कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र कृषि विकास बैंकका अधिकृतदेखि पियन र सर्वसाधरण छन्। जुवाको रौनकमा 'मार्रा' भन्दै होहल्ला गर्दै गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरद्वय वेणी सिलवाल र लोकहरि ढकाल नेतृत्वको प्रहरी टोलीले राति ११ बजेतिर उनीहरुलाई एमाले नेता जालबहादुर लामाको घरबाट पक्राउ गरेको हो। जुवाखेलिरहेका लामा पनि पक्राउ परेका छन्।
इन्स्पेक्टर सिलवालका अनुसार पक्राउ पर्नेहरुमा प्रशासन कार्यालयका अधिकृत भीम कोइराला, नायव सुब्बा स्थानेश्वर भट्टराई, सहयोगी पूर्णबहादुर बुढाथोकी, सरकारी वकिल कार्यालयका बेनु सिवाकोटी, मालपोतका सुब्बा भगिरथ सिग्देल, खानेपानीका कार्यालय सहयोगी कृष्णबहादुर राउत, कृषि बैंकका सहायक शम्भु बानियाँ छन्। त्यस्तै जुवा खेलाउने निमा शेर्पा, राजाराम थापा, दलबहादुर खत्री, मल भुजु, स्वरुप श्रेष्ठ, विकास घले, तारा श्रेष्ठ, रामबहादुर कुँवर, नारायण अधिकारी, हेमन्त प्रधान, राजकुमार पुरी, केशव श्रेष्ठ, क्षेत्रबहादुर तामाङ, लगायत छन्।
उनीहरुलाई 'आइन्दा जुवा नखेल्ने' सर्तसहित कागजमा सही गराएर छाडिएको छ। पहिलो पटक भएकाले सख्त चेतावनीसहित छोडिएको इन्स्पेक्टर सिलवालले बताए। जिल्ला प्रहरीले जुवाघरबाट बरामद रकम सामाजिक काममा लगाउने निर्णय गरेको छ। ७५ प्रतिशत निर्माणाधिन सामुदायिक प्रहरी भवन र २५ प्रतिशत स्थानीय वृद्धाश्रमलाई उपलब्ध गराउने प्रहरीले जनाएको छ।
प्रहरीले पहिलो पटक जुवाघरमा छापामारी यति धेरै जुवाडे समातेको हो। अन्यत्र पनि जुवा खेलाइने सूचना आफूहरुसँग रहेको बताउँदै प्रहरी प्रमुख डिएसपी बसन्त लामाले छापा मार्नेक्रमलाई निरन्तरता दिने बताए।

No comments:

Post a Comment