Saturday, October 15, 2011

सकुटे बैठकमा किन एक्ला–एक्लै हिँडे भट्टराई ?


ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, चैत २१-
      शान्त वातावरणमा पार्टी आन्तरिक कलह मिलाउन सुकुटेको इक्वेटर बिच रिसोर्टमा दुई दिन चलेको माओवादी स्थायी समिति बैठकमा उपाध्यक्ष डा. बाबुराम भट्टराईको अनुहारमा अघिपछिको जस्तो चमक थिएन। कार्यकर्ताले उनी हाँसेको देख्‍न पाएनन्। बोलेनन् पनि। धक फुकाएर सञ्चारकर्मीसँग बोल्ने भट्टराई यस पटक उनीहरुसँग टाढै  
बसे।   
      बैठकबाहेकको समयमा पनि उनी एक्लै देखिन्थे। एक्लै हिँड्थे, एक्लै टोहोलाउँथे, 'एकान्तप्रेमी' जस्तै। बैठक अघिपछिको साँझ–बिहान उनी कि त एकोहोरो सुनकोसी नदीतिर हेरिरहन्थे कि त वरिवरि सालको जङ्गलतिर आँखा डुलाइरहेका भेटिन्थे। चिया, नास्ता र खाजाको समयमा पनि उनी सहकर्मीसँग त्यति बोलेनन्।


     शनिबार बैठकमा भाग लिन आउँदा माइक्रोबाट ओर्लेर समूहमा नहिँडी एक्लै रिसोर्ट छिरेका उनी फर्कंदा पनि सरासर माइक्रोमा गएर बसे। आइतबार बैठकको मध्यान्तरमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठलगायत् स्थायी समितिका नेताले सुनकोसीमा र्‍याफ्टिङको मज्जा लिए। आपसमा हाँसो ठट्टा गर्दै गरमागर्मी बहसले तातेका उनीहरुले 'मुड फ्रेस' बनाए पनि भट्टराईको चेहरामा भने सुधारको सङ्केत देख्‍न पाइएन।


     र्‍याफ्टिङ अनुभूतिबारे जिज्ञासा राख्‍न चोर बाटो भएर सुनकोसी बगर उत्रेका पत्रकारको घेरामा परेपछि भने उनी बोल्न बाध्य भए। र्‍याफ्टिङ खेल्दा कस्तो अनुभव गर्नुभो उपाध्यक्षज्यू ? भन्ने जिज्ञासामा अन्तरमुखी स्वभावका उनले यत्ति भने- राजनीति गर्ने मान्छेले हरेक कुराको अनुभव गर्नुपर्छ। अङ्गरक्षकले उनलाई पछि कुरा गर्नुहुन्छ भन्दै बोल्न रोकिरहेका थिए। पार्टीमा तीन खेमा (पक्ष) को नेतृत्व गरिरहेका अध्यक्ष दाहाल र उपाध्यक्षद्वय वैद्य र भट्टराई र्‍याफ्टिङ बोटमा पनि तीनतिर बाँडिएका थिए।


     अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा भट्टराईलाई 'पार्टी फुटाउन खोजेको' आरोप लगाउँदै तीव्र आलोचना गरेका थिए। चकाचर्की बहस गरिरहेका उनले जवाफमा भने- जस्तै अवस्था आए पनि लड्छु। अन्त्यसम्म पार्टीमै हुन्छु। अध्यक्ष दाहालले सङ्गठन मनोमानी ढङ्गले चलाएको प्रसङ्गमा मात्र उनले वरिष्ठ उपाध्यक्ष वैद्यको साथ पाएका थिए।


      बैठक समाप्तिपछि निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराई झनै भावुक थिए। पार्टी फुटाउन खोजेको आरोप खेप्दै आएका उनी पत्रकार सम्मेलनमा चेपुवामा परेको प्रस्टै देखिन्थ्यो। पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन नसकेको अभिव्यक्ति दिँदै आएका उनले पत्रकारमाझ आफ्नो हबला दिँदै मिडियामा आएका कुरा 'अतिरञ्जित' भएको बताए। 


           उनले भने- पार्टी फुट्न सक्छ भनेर बोलेको सत्य हो तर मिडियामा आएका धेरै कुरा झुट छन्। म यहीँबाट खण्डन गर्न चाहन्छु। पार्टी विवाद सम्बन्धमा सञ्चारकर्मीले भट्टराईलाई सोधेको प्रश्‍नमा अध्यक्ष दाहालले आफैं अग्रसर भएर 'पार्टी हिजो पनि एक थियो, आज पनि छ र भोलि पनि रहन्छ' भनेर जवाफ दिएका थिए। बैठक सुरु हुँदादेखि नै प्रतिक्रियाका लागि सञ्चारकर्मीले खोजी गरेका भट्टराई नबोलून् भन्ने मनसाय संस्थापन पक्षमा पाइन्थ्यो।

No comments:

Post a Comment