Saturday, October 15, 2011

सभासद् डोल्मा गाउँमै पढ्ने

Thursday, 23 June 2011 00:07  नागरिक
                    ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार ९ - एमाले सभासद् डोल्मा तामाङले ३८ वर्षको उमेरमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी छन्। पश्चिमी सिन्धुपाल्चोकको इचोक-७ की उनले रौतहटको विश्वरामपुरस्थित नेपाल उच्च माविबाट एसएलसी दिएकी थिइन्। उनी एमाले  
जिल्ला समिति उपसचिव समेत हुन्।  
स्वअध्ययनको भरमा नियमित परीक्षार्थीका रुपमा उनले पहिलोपटक यो सफलता प्राप्त गरेकी हुन्। 'मेहनत गर्‍यो भने असम्भव केही रहेनछ,' डोल्माले नागरिकसँग भनिन्।
समाजशास्त्र विषय लिएर उच्च शिक्षा अघि बढाउने निधो गरेकी छिन्। 'समाजमा अझ धेरै घुलमिल गर्नु छ,' उनले भनिन्, 'समाजको सूक्ष्म अध्ययन गर्ने चाहना छ।'
जिल्लाकै उच्च माविमा भर्ना हुने उनले बताइन्। 'एसएलसी तयारीका क्रममा पढाउने शिक्षकसँगको चिनजानले रौटहट पुगे पनि १० जोड दुई भने कर्मथलो जिल्लामै पढ्छु,' उनले भनिन्।
 सानैमा बिहे भएकाले घरव्यवहार र छोराछोरीको हेरचाह गर्नुपर्ने बाध्यताका कारण उनले विद्यालय टेक्न पाइनन्। दुई सन्तानकी आमा डोल्माका छोरा प्रशान्त राजधानीमै व्यवस्थापन विषय लिएर कक्षा १२ पढिरहेका छन्। छोरी सुनिसा हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ९ मा पढ्छिन्।
 चेलिबेटी बेचविखनविरुद्धको अभियानमा लामो समय सक्रिय डोल्मा सामाजिक कार्यकर्ताको पृष्ठभूमिबाट राजनीतिमा छिरेकी हुन्। एक्सन-एड नेपाल नामक गैरसरकारी संस्थामा जागिर खाने क्रममा उनले ०४९ मा स्वअध्ययन गरेर कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनले त्यतिबेलै अध्ययनलाई निरन्तरता दिन खोजे पनि छोराछोरीको पढाइका कारण सकिनन्। अस्ट्रेलियन वन परियोजनामा साढे दुई वर्ष काम गर्ने क्रममा पनि उनले पढ्न खोजकी थिइन् तर घरव्यवहारकै कारण पाइनन्।
 'एक दिन स्कुल जान नपाए पनि सानैदेखिको पढ्ने धोको बल्ल पूरा भयो। छोराछोरी हुर्केकाले अब जसरी भए पनि पढ्छु,' उनले भनिन्। भर्खर पार्टी लाइन समातेका बेला २०५४ सालको स्थानीय चुनावमा एमालेलाई भोट दिएपछि डोल्मा ९ वर्ष गाउँबाट बहिष्कृत समेत भएकी थिइन्। राजनीतिक जीवन र जिम्मेवारीले नियमित कलेज जान नपा एपनि घरमा भरपुर मेहनत गर्ने डोल्माको दृढता छ।


No comments:

Post a Comment