Tuesday, October 25, 2011

घुम्न जाउँ है चौतारा

सिन्धुपाल्चोक महोत्सव

सिन्धुपाल्चोक कात्तिक ८ -सिन्धुपाल्चोक समृद्धिको आधार जलस्रोत पर्यटन कृषि र व्यापार भन्ने मुलनाराका साथ सिन्धुपाल्चोक महोत्सव हुने भएको छ । सदरमुकाम चौतारामा आगामी मंसिर ३ देखि ७ गतेसम्म पाँच दिन महोत्सव चल्नेछ ।
समृद्ध सिन्धुपाल्चोकको आधार खोज्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सव तयारीका लागि सोमबार राजधानीमा भएको सर्वपक्षीय भेलाले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा मुलसमारोह समित गठन गरेको छ । महोत्सव मूलसमारोहमा सिन्धुपाल्चोक विकासको घोषणापत्र जारी गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यो नै महोत्सवको मुख्य विशेषता हो उनले भने । उनका अनुसार जिल्लास्थित राजनीतिक दलका नेता सभासद् र विशेषज्ञ सम्मिलित टोलीले कार्यशालाद्धारा जलस्रोत पर्यटन कृषि र व्यापार सम्वन्धि छुट्टाछुट्टै घोषणापत्र तयार गर्नेछ । पर्यटन वर्ष २०११ लाई समेत लक्षित गर्दै आयोजना गरिएको महोत्सवमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भ्रमण वर्ष १९९८ को अवसरमा समेत सिन्धु महोत्सव आयोजना गरिएको थियो ।

शुभदिपावली कप सेनाको पोल्टामा


ईर्खुमा सन्चालित शुभदिपावली कप भलिवल प्रतियोगिताको उपाधि नेपाली सेनाको गोरखनाथ गणले कब्जा गरेको छ । मंगलबार भएको फाइनलमा आयोजक ईर्खुलाई हराउँदै सेनाले उपाधि रक्षा गरेको हो ।

Friday, October 21, 2011

कसले मार्ला बाजी

इर्खुमा शुक्रबारबाट पाँचौ शुभदिपावली कप भलिवल प्रतियोगिता सुरु भएको छ ।

Thursday, October 20, 2011

सरकारी कर्मचारीसहित २६ जुवाडे खालबाटै समातिए

ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक ३ - चार सरकारी कार्यालयका ६ कर्मचारीसहित २६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चौतारास्थित व्यक्तिको घरम गोप्य रुपमा सञ्चालित जुवा घरबाट जुवा र ८४ हजार रुपैयाँ नगदसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जुवातास नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत छन्।

सरकारी वकिलको कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र कृषि विकास बैंकका अधिकृतदेखि पियन र सर्वसाधरण छन्। जुवाको रौनकमा 'मार्रा' भन्दै होहल्ला गर्दै गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरद्वय वेणी सिलवाल र लोकहरि ढकाल नेतृत्वको प्रहरी टोलीले राति ११ बजेतिर उनीहरुलाई एमाले नेता जालबहादुर लामाको घरबाट पक्राउ गरेको हो। जुवाखेलिरहेका लामा पनि पक्राउ परेका छन्।
इन्स्पेक्टर सिलवालका अनुसार पक्राउ पर्नेहरुमा प्रशासन कार्यालयका अधिकृत भीम कोइराला, नायव सुब्बा स्थानेश्वर भट्टराई, सहयोगी पूर्णबहादुर बुढाथोकी, सरकारी वकिल कार्यालयका बेनु सिवाकोटी, मालपोतका सुब्बा भगिरथ सिग्देल, खानेपानीका कार्यालय सहयोगी कृष्णबहादुर राउत, कृषि बैंकका सहायक शम्भु बानियाँ छन्। त्यस्तै जुवा खेलाउने निमा शेर्पा, राजाराम थापा, दलबहादुर खत्री, मल भुजु, स्वरुप श्रेष्ठ, विकास घले, तारा श्रेष्ठ, रामबहादुर कुँवर, नारायण अधिकारी, हेमन्त प्रधान, राजकुमार पुरी, केशव श्रेष्ठ, क्षेत्रबहादुर तामाङ, लगायत छन्।
उनीहरुलाई 'आइन्दा जुवा नखेल्ने' सर्तसहित कागजमा सही गराएर छाडिएको छ। पहिलो पटक भएकाले सख्त चेतावनीसहित छोडिएको इन्स्पेक्टर सिलवालले बताए। जिल्ला प्रहरीले जुवाघरबाट बरामद रकम सामाजिक काममा लगाउने निर्णय गरेको छ। ७५ प्रतिशत निर्माणाधिन सामुदायिक प्रहरी भवन र २५ प्रतिशत स्थानीय वृद्धाश्रमलाई उपलब्ध गराउने प्रहरीले जनाएको छ।
प्रहरीले पहिलो पटक जुवाघरमा छापामारी यति धेरै जुवाडे समातेको हो। अन्यत्र पनि जुवा खेलाइने सूचना आफूहरुसँग रहेको बताउँदै प्रहरी प्रमुख डिएसपी बसन्त लामाले छापा मार्नेक्रमलाई निरन्तरता दिने बताए।

भव्य भवनः १ सय ६६ वर्ष पुरानो भवन छोडेर जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक बुधबारदेखि २ करोड रूपैयाँमा निर्मित भव्य भवनमा सरेको छ ।

Saturday, October 15, 2011

सकुटे बैठकमा किन एक्ला–एक्लै हिँडे भट्टराई ?


ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, चैत २१-
      शान्त वातावरणमा पार्टी आन्तरिक कलह मिलाउन सुकुटेको इक्वेटर बिच रिसोर्टमा दुई दिन चलेको माओवादी स्थायी समिति बैठकमा उपाध्यक्ष डा. बाबुराम भट्टराईको अनुहारमा अघिपछिको जस्तो चमक थिएन। कार्यकर्ताले उनी हाँसेको देख्‍न पाएनन्। बोलेनन् पनि। धक फुकाएर सञ्चारकर्मीसँग बोल्ने भट्टराई यस पटक उनीहरुसँग टाढै  
बसे।   
      बैठकबाहेकको समयमा पनि उनी एक्लै देखिन्थे। एक्लै हिँड्थे, एक्लै टोहोलाउँथे, 'एकान्तप्रेमी' जस्तै। बैठक अघिपछिको साँझ–बिहान उनी कि त एकोहोरो सुनकोसी नदीतिर हेरिरहन्थे कि त वरिवरि सालको जङ्गलतिर आँखा डुलाइरहेका भेटिन्थे। चिया, नास्ता र खाजाको समयमा पनि उनी सहकर्मीसँग त्यति बोलेनन्।


     शनिबार बैठकमा भाग लिन आउँदा माइक्रोबाट ओर्लेर समूहमा नहिँडी एक्लै रिसोर्ट छिरेका उनी फर्कंदा पनि सरासर माइक्रोमा गएर बसे। आइतबार बैठकको मध्यान्तरमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठलगायत् स्थायी समितिका नेताले सुनकोसीमा र्‍याफ्टिङको मज्जा लिए। आपसमा हाँसो ठट्टा गर्दै गरमागर्मी बहसले तातेका उनीहरुले 'मुड फ्रेस' बनाए पनि भट्टराईको चेहरामा भने सुधारको सङ्केत देख्‍न पाइएन।


     र्‍याफ्टिङ अनुभूतिबारे जिज्ञासा राख्‍न चोर बाटो भएर सुनकोसी बगर उत्रेका पत्रकारको घेरामा परेपछि भने उनी बोल्न बाध्य भए। र्‍याफ्टिङ खेल्दा कस्तो अनुभव गर्नुभो उपाध्यक्षज्यू ? भन्ने जिज्ञासामा अन्तरमुखी स्वभावका उनले यत्ति भने- राजनीति गर्ने मान्छेले हरेक कुराको अनुभव गर्नुपर्छ। अङ्गरक्षकले उनलाई पछि कुरा गर्नुहुन्छ भन्दै बोल्न रोकिरहेका थिए। पार्टीमा तीन खेमा (पक्ष) को नेतृत्व गरिरहेका अध्यक्ष दाहाल र उपाध्यक्षद्वय वैद्य र भट्टराई र्‍याफ्टिङ बोटमा पनि तीनतिर बाँडिएका थिए।


     अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा भट्टराईलाई 'पार्टी फुटाउन खोजेको' आरोप लगाउँदै तीव्र आलोचना गरेका थिए। चकाचर्की बहस गरिरहेका उनले जवाफमा भने- जस्तै अवस्था आए पनि लड्छु। अन्त्यसम्म पार्टीमै हुन्छु। अध्यक्ष दाहालले सङ्गठन मनोमानी ढङ्गले चलाएको प्रसङ्गमा मात्र उनले वरिष्ठ उपाध्यक्ष वैद्यको साथ पाएका थिए।


      बैठक समाप्तिपछि निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराई झनै भावुक थिए। पार्टी फुटाउन खोजेको आरोप खेप्दै आएका उनी पत्रकार सम्मेलनमा चेपुवामा परेको प्रस्टै देखिन्थ्यो। पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन नसकेको अभिव्यक्ति दिँदै आएका उनले पत्रकारमाझ आफ्नो हबला दिँदै मिडियामा आएका कुरा 'अतिरञ्जित' भएको बताए। 


           उनले भने- पार्टी फुट्न सक्छ भनेर बोलेको सत्य हो तर मिडियामा आएका धेरै कुरा झुट छन्। म यहीँबाट खण्डन गर्न चाहन्छु। पार्टी विवाद सम्बन्धमा सञ्चारकर्मीले भट्टराईलाई सोधेको प्रश्‍नमा अध्यक्ष दाहालले आफैं अग्रसर भएर 'पार्टी हिजो पनि एक थियो, आज पनि छ र भोलि पनि रहन्छ' भनेर जवाफ दिएका थिए। बैठक सुरु हुँदादेखि नै प्रतिक्रियाका लागि सञ्चारकर्मीले खोजी गरेका भट्टराई नबोलून् भन्ने मनसाय संस्थापन पक्षमा पाइन्थ्यो।

सभासद् डोल्मा गाउँमै पढ्ने

Thursday, 23 June 2011 00:07  नागरिक
                    ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार ९ - एमाले सभासद् डोल्मा तामाङले ३८ वर्षको उमेरमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी छन्। पश्चिमी सिन्धुपाल्चोकको इचोक-७ की उनले रौतहटको विश्वरामपुरस्थित नेपाल उच्च माविबाट एसएलसी दिएकी थिइन्। उनी एमाले  
जिल्ला समिति उपसचिव समेत हुन्।  
स्वअध्ययनको भरमा नियमित परीक्षार्थीका रुपमा उनले पहिलोपटक यो सफलता प्राप्त गरेकी हुन्। 'मेहनत गर्‍यो भने असम्भव केही रहेनछ,' डोल्माले नागरिकसँग भनिन्।
समाजशास्त्र विषय लिएर उच्च शिक्षा अघि बढाउने निधो गरेकी छिन्। 'समाजमा अझ धेरै घुलमिल गर्नु छ,' उनले भनिन्, 'समाजको सूक्ष्म अध्ययन गर्ने चाहना छ।'
जिल्लाकै उच्च माविमा भर्ना हुने उनले बताइन्। 'एसएलसी तयारीका क्रममा पढाउने शिक्षकसँगको चिनजानले रौटहट पुगे पनि १० जोड दुई भने कर्मथलो जिल्लामै पढ्छु,' उनले भनिन्।
 सानैमा बिहे भएकाले घरव्यवहार र छोराछोरीको हेरचाह गर्नुपर्ने बाध्यताका कारण उनले विद्यालय टेक्न पाइनन्। दुई सन्तानकी आमा डोल्माका छोरा प्रशान्त राजधानीमै व्यवस्थापन विषय लिएर कक्षा १२ पढिरहेका छन्। छोरी सुनिसा हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ९ मा पढ्छिन्।
 चेलिबेटी बेचविखनविरुद्धको अभियानमा लामो समय सक्रिय डोल्मा सामाजिक कार्यकर्ताको पृष्ठभूमिबाट राजनीतिमा छिरेकी हुन्। एक्सन-एड नेपाल नामक गैरसरकारी संस्थामा जागिर खाने क्रममा उनले ०४९ मा स्वअध्ययन गरेर कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनले त्यतिबेलै अध्ययनलाई निरन्तरता दिन खोजे पनि छोराछोरीको पढाइका कारण सकिनन्। अस्ट्रेलियन वन परियोजनामा साढे दुई वर्ष काम गर्ने क्रममा पनि उनले पढ्न खोजकी थिइन् तर घरव्यवहारकै कारण पाइनन्।
 'एक दिन स्कुल जान नपाए पनि सानैदेखिको पढ्ने धोको बल्ल पूरा भयो। छोराछोरी हुर्केकाले अब जसरी भए पनि पढ्छु,' उनले भनिन्। भर्खर पार्टी लाइन समातेका बेला २०५४ सालको स्थानीय चुनावमा एमालेलाई भोट दिएपछि डोल्मा ९ वर्ष गाउँबाट बहिष्कृत समेत भएकी थिइन्। राजनीतिक जीवन र जिम्मेवारीले नियमित कलेज जान नपा एपनि घरमा भरपुर मेहनत गर्ने डोल्माको दृढता छ।


गर्भवती हुनुभयो ? ल बधाई

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, असार २२- 'तपाईं गर्भवती हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।' यही बेहोराको कार्ड गर्भवतीको हात–हातमा आउँदैछ। अचम्म नमान्नुहोस्, यो कार्ड तपाईंकै लागि हो। आमा र बच्चालाई सम्भावित जोखिमबाट  
बचाउन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गर्भवतीलाई बधाईसहितको निमन्त्रणा कार्ड पठाउन थालेको छ।  
'स्वास्थ्य संस्थामा गर्भवतीको पहुँच बढाउन कार्ड पठाउन थालेका हौं'- जिल्ला स्वास्थ्य प्रमुख डा. राजेन्द्र पन्तले नागरिकसँग भने। स्वास्थ्य संस्थामा गर्भवतीको पहुँच कायम नहुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा परेको र सरकारी सेवा र लगानीको समुचित सदुपयोग हुन नसकेपछि कार्ड अभियान थालिएको उनले बताए।


जिल्लाका सबै स्वास्थ्य संस्थाबाट गर्भवतीलाई बधाईसहितको निमन्त्रणा कार्ड वितरण गर्ने व्यवस्था मिलाइएको छ। कार्डमा गर्भवती अवस्थामा पूरा गर्नुपर्ने जाँच, सेवन गर्नुपर्ने औषधी र खोप तथा सरकारद्वारा उपलब्ध सेवा, उनीहरुले पाउने सुत्केरी भत्तालगायत् विषयमा जानकारीसमेत गराइएको छ।


सरकारले गर्भवती तथा सुत्केरी सेवालाई निशुल्कसहित सुविधा थप्दै लगे पनि ग्रामीण महिलाको सुरक्षित प्रसूति सेवा प्रभावकारी बन्न सकेको छैन। जसका कारण वर्षेनि सयौं आमा तथा नवजात शिशुको जीवन जोखिममा पर्दै आएको छ भने उनीहरुका लागि उपलब्ध लाखौं रुपियाँ सुत्केरी भत्ता फिर्ता हुने गरेको छ। जिल्लामा वार्षिक ९ हजार ६ सय महिला गर्भवती हुने र ८ हजार १ सय ५० सुत्केरी हुने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। गर्भवती महिलामध्ये १८ प्रतिशत मात्र स्वास्थ्य संस्थामा आउने तथ्याङ्क अधिकृत विनोद पौडेलले जानकारी दिए।


'गर्भवतीको ५० प्रतिशतमात्र पहिलो पटकको परीक्षणमा आउँछन्। चौथो पटकसम्मको परीक्षण र स्थास्थ्य संस्थामा सुरक्षित सुत्केरी गारउने सङ्ख्या दोब्बरका दरले घट्छ,' उनले भने। गर्भ रहेको चौथो, छैटौं, आठौं र नवौं महिनामा कम्तिमा चार पटक परीक्षण गराउनुपर्छ। कार्यालयको रकेर्डअनुसार चालू वर्षको वैशाखसम्म ४ हजार २ सय १९ महिलाले पहिलो पटक गर्भपरीक्षण गराएकोमा त्यसको आधा भन्दाकम १ हजार ९ सय ६० मात्र चौथो पटकको परीक्षणमा आएका छन्। स्वास्थ्य कार्यकर्ताको प्रत्यक्ष निगरानीमा सुरक्षित प्रसूति गराउनेको सङ्ख्या १ हजार ३ सय ९२ मात्र छ।


माओवादी सभासद् श्रेष्ठले फेसबुक स्टाटस लेखे, 'कुकुरहरु भुक्दै गर्छन्'

नागरिक , २०६८
ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार २८- पार्टीभित्रैबाट रक्तचन्दन तस्करी गरेको आरोप खेपिरहेका माओवादी सभासद् राजकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेका छन्। पछिल्ला २४ घण्टाबीचमा लगातार चार वटा स्टाटस लखेर उनले आरोप लगाउनेलाई लक्षित गरी तीव्र आक्रोश पोखेका हुन्। 




उनले सोमबार एकैदिन ती स्टाटस लेखेका थिए। पहिलो स्टाटस लेखेको एक घण्टापछि उनले एकै पटक तीन स्टाटस लेख्‍न भ्याएका छन्। सूचना तथा सञ्चारमन्त्री अग्नी सापकोटाले श्रेष्ठलाई जुवाघरबाट पक्राउ गरेको र उनी रक्तचन्दन तस्करी भएको आरोप लगाएका थिए। सापकोटाको आरोपविरुद्ध छानबिन माग गर्दै शुक्रबार श्रेष्ठले पार्टी स्थायी समितिमा लिखित निबेदन दिएपछि दुबै नेताबीच आरोप-प्रत्यारोप चल्दै आएको छ। यसको छानबिन गर्न पार्टीले नेतात्रय अमिक सेरचन, वर्षमान पुनः र दिनानाथ शर्मा सम्मिलित समिति नै गठन गरिसकेको छ।



उनले स्टाटसमा नेता सापकोटाप्रति लक्षित गर्दै 'कुकर' र 'डाँका'जस्ता तल्ला स्तरका शब्द प्रयोग गरेर तीव्र आक्रोश व्यक्त गरेका छन्।


'गोएबल्सका चेलाहरु भ्रामक कुराहरु प्रचार गरेर आत्मरती लिएरहेका छन्,' उनले नेपाली युनिक अक्षरमा पहिलो स्टाटस लेखेका छन्। उनले दोस्रो स्टाटसमा बाघ र बिरोलोको मुखको पुरानो लोकोक्ति मिल्नेगरी पार्टीभित्रै शत्रु रहेको संकेत गरेका छन्। पहिलो स्टाटस लेखेको एक घण्टापछि दोस्रो स्टाटस लेखेर सभासद् श्रेष्ठले भनेका छन्, 'बाघको मुख हेर्नु परे बिरालोको मुख हेर्नु शत्रुको मुख हेर्नु परे पार्टीका साथीहरुको मुख हेर्नु भनी उखान बनाउनुपर्ने भो।'


लगत्तै लेखिएको अर्को स्टाटसमा भनिएको छ, 'डाँकाहरु आफूले गरेको अपराध छोप्न अर्कालाई आरोप लगाउँछन्।' हिज्जे र शुद्धाशुद्धी नमिलेको यो स्टाटसमा उनले 'अपराध छोप्न' लेख्‍न खोजेको बुझिन्छ। यो स्टाटसमा श्रेष्ठले मन्त्री सापकोटाले आफ्नो अपराध लुकाउन आफूलाई आरोप लगाएको भन्ने संकेत गरेका छन्। 'कुकुरहरु भुक्दै गर्छन्, हात्ती लम्कदै गर्छन्,' उनको अन्तिम यो स्टाटसले आरोप लगाए पनि आफू वास्ता नगरी अघि बढ्ने सन्देश दिन खोजेका छन्।


सिन्धुपाल्चोक गृहजिल्ला भएका सापकोटा र श्रेष्ठ ताम्सालिङ राज्य समितिमा क्रमशः इन्जार्च र सचिवालय सदस्य छन्। संविधान सभाको निर्वाचनपछि उनीहरुबीच चिसिँदो सम्बन्ध यतिबेला पानी बाराबारको स्थितिमा पुगेको जिल्ला पार्टी स्रोतले बतायो। सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठ उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर हुन्। श्रेष्ठ र जिल्ल्लाकै अर्का सभासद् दावा तामाङले जिल्ला पार्टीमा सापकोटा परिवार हावी भएको र एकलौटी गर्न खोजेको आरोप सापकोटामाथि लगाउँदै आएका छन्। सापकोटा पक्षले भने रक्तचन्दन तस्करी गरेको र तातोपानी नाकाका व्यापारीसँग फाइदा लिएको आरोप श्रेष्ठमाथि लगाएको छ। श्रेष्ठले जिल्ला समिति सदस्य रहेका आफ्ना बहिनी ज्वाँइ भीमप्रसाद पराजुलीलाई अघि सारेर रक्तचन्दन तस्करी गरिरहेको सापकोटा पक्षको आरोप छ।


सभासद् श्रेष्ठले भने फरक विचार राखेकै कारण आफूमाथि नियोजित रुपमा सापकोटाले आरोप लगाएको बताए। 'विचारमा हारेपछि बौलठ्ठीपूर्ण र कायरतापूर्वक षड्यन्त्र गरिएको हो,' उनले नागरिकसँग भने। ज्वाइलाई अघि सारेर चन्दन तस्करी गर्नु हुन्छ रे'नि? भन्ने प्रश्नमा श्रेष्ठले भने, 'उनी मेरो ज्वाइ र कार्यकर्ता दुवै हो। उसले के गर्छ मलाई थाहा हुने कुरा भएन।' कार्वाही हुने डरले विषय अन्तर गर्न श्रेष्ठले उजुरी हालेका सापकोटा पक्षका नेता कार्यकर्ताको तर्क छ। 'पार्टी केन्द्रले गम्भिरतापूर्वक छानबिन गरे को दुधको पानी भनेर तत्काल छुट्टिन्छ,' सापकोटा पक्षका एक जिल्ला सदस्यले दाबी गरे।


शेर्पिनीको बस्ति

सुन्दर पर्यटकीय गाउँ हेलम्बु ।
तस्विरः ध्रुव दंगाल

पण्डित दीनबन्धुलाइ सेक्स अफर

पण्डित दीनबन्धु पोखरेल । जसको नामैमा सम्पूर्ण परिचय लुकेको छ । चर्चित पण्डित नारायण पोखरेलका पुत्र उनको आफ्नै उपाधि छ 'बाचन प्रविण' । अंग्रेजी साहित्यमा स्नातकोत्तर सकेका सांगितक प्रवचनमा नयाँ शैली र शिल्पको प्रयोग गर्दै हिन्दुधर्म दर्शनलाई समाज विकासमा जोडेर परिवर्तनको अभियानमा होमिएका अभियन्ता । पूर्वीय दर्शनलाई नयाँ ढंगले समाज रुपान्तरणमा लगाउनु पर्छ भन्ने पण्डितलॆ प्रेम विवाह र यौनलाई कसरी हेरेका होलान् सदरमुकाम चौतारालाई शैक्षिक नगरी बनाउन आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पूराण बाच्न आएका उनलाई हाम्रो भेटमा यही प्रश्न सोधियो । पण्डितजी प्रेम विवाह र यौनलाई कसरी हेर्नु भएको छ एकाविहानै मानवीय यौन व्यवहारबारे बताउनु पर्दा केही अकमकाएका पण्डितबाट अब सुरु भयॊ प्रेम प्रवचन ।

दसैं खर्चका लागि वृद्ध दम्पती मार्ने युवकद्वय सार्वजनिक

'दसैं खर्च जुटाउन' घटस्थापनाका दिन भएको सुनखानी–२ का वृद्ध तामाङ दम्पतीको हत्या प्रकरणका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न गाउँकै युवकद्धय १७ वर्षीय हिरालाल तामाङ र १८ वर्षीय कारसाङ तामाङलाई सार्वजनिक गरिएको हो।