Saturday, October 15, 2011

गर्भवती हुनुभयो ? ल बधाई

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, असार २२- 'तपाईं गर्भवती हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।' यही बेहोराको कार्ड गर्भवतीको हात–हातमा आउँदैछ। अचम्म नमान्नुहोस्, यो कार्ड तपाईंकै लागि हो। आमा र बच्चालाई सम्भावित जोखिमबाट  
बचाउन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गर्भवतीलाई बधाईसहितको निमन्त्रणा कार्ड पठाउन थालेको छ।  
'स्वास्थ्य संस्थामा गर्भवतीको पहुँच बढाउन कार्ड पठाउन थालेका हौं'- जिल्ला स्वास्थ्य प्रमुख डा. राजेन्द्र पन्तले नागरिकसँग भने। स्वास्थ्य संस्थामा गर्भवतीको पहुँच कायम नहुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा परेको र सरकारी सेवा र लगानीको समुचित सदुपयोग हुन नसकेपछि कार्ड अभियान थालिएको उनले बताए।


जिल्लाका सबै स्वास्थ्य संस्थाबाट गर्भवतीलाई बधाईसहितको निमन्त्रणा कार्ड वितरण गर्ने व्यवस्था मिलाइएको छ। कार्डमा गर्भवती अवस्थामा पूरा गर्नुपर्ने जाँच, सेवन गर्नुपर्ने औषधी र खोप तथा सरकारद्वारा उपलब्ध सेवा, उनीहरुले पाउने सुत्केरी भत्तालगायत् विषयमा जानकारीसमेत गराइएको छ।


सरकारले गर्भवती तथा सुत्केरी सेवालाई निशुल्कसहित सुविधा थप्दै लगे पनि ग्रामीण महिलाको सुरक्षित प्रसूति सेवा प्रभावकारी बन्न सकेको छैन। जसका कारण वर्षेनि सयौं आमा तथा नवजात शिशुको जीवन जोखिममा पर्दै आएको छ भने उनीहरुका लागि उपलब्ध लाखौं रुपियाँ सुत्केरी भत्ता फिर्ता हुने गरेको छ। जिल्लामा वार्षिक ९ हजार ६ सय महिला गर्भवती हुने र ८ हजार १ सय ५० सुत्केरी हुने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। गर्भवती महिलामध्ये १८ प्रतिशत मात्र स्वास्थ्य संस्थामा आउने तथ्याङ्क अधिकृत विनोद पौडेलले जानकारी दिए।


'गर्भवतीको ५० प्रतिशतमात्र पहिलो पटकको परीक्षणमा आउँछन्। चौथो पटकसम्मको परीक्षण र स्थास्थ्य संस्थामा सुरक्षित सुत्केरी गारउने सङ्ख्या दोब्बरका दरले घट्छ,' उनले भने। गर्भ रहेको चौथो, छैटौं, आठौं र नवौं महिनामा कम्तिमा चार पटक परीक्षण गराउनुपर्छ। कार्यालयको रकेर्डअनुसार चालू वर्षको वैशाखसम्म ४ हजार २ सय १९ महिलाले पहिलो पटक गर्भपरीक्षण गराएकोमा त्यसको आधा भन्दाकम १ हजार ९ सय ६० मात्र चौथो पटकको परीक्षणमा आएका छन्। स्वास्थ्य कार्यकर्ताको प्रत्यक्ष निगरानीमा सुरक्षित प्रसूति गराउनेको सङ्ख्या १ हजार ३ सय ९२ मात्र छ।


No comments:

Post a Comment