Saturday, December 24, 2011

कोदो कुट्ने मेलो


पुसको पारिलो घाममा कोदो कुद्दै सिन्धुपाल्चोक चौताराका महिला । यतिबेला जिल्लाका किसान मंसिरमा टिपेको कोदो कुट्न व्यस्त छन् । कृषि कार्यालयको तथ्यांक अनुसार जिल्लामा उत्पादिन कोदोको ९० प्रतिशत हिस्सा मदिरा उत्पादनमा खपत हुन्छ । 

Thursday, December 22, 2011

छोरी मारेको अभियोगमा आमा पक्राउ

 सिन्धुपाल्चोक, पुस ७- पाँच महिने छोरीको हत्या गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। साँगाचोक-८ की १८ वर्षीया गोमती गिरीलाई शिशु हत्या गरेको आरोपमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

Monday, December 19, 2011

माछा मार्ने हातमा कम्प्युटरको किबोर्ड

तस्बिर : कम्प्युटर कक्षा िलंदै माझी दनुवार बालबालिका ।
सिन्धुपाल्चोक, पुस ५- माछा मार्ने र खोलामा खेलेर दिन बिताउने भीमटारका माझी, दनुवार बालबालिका यतिबेला कम्प्युटरको माउस र किबोर्ड चलाएर समयको सदुपयोग गर्छन्। इन्द्रावती नदी किनारको पिछडिएका अल्पसंख्यक माझी, दनुवार बस्तीको भीमेश्वरी माध्यमिक विद्यालयले कम्प्युटर शिक्षा सञ्चालनमा ल्याएपछि बालबालिका दंग छन्। 
यहाँका ९५ प्रतिशतभन्दा बढी माझी, दनुवार समुदायले नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। उनीहरूका बालबालिका अध्ययन गर्ने यो विद्यालयले गत मंसिरदेखि कम्प्युटर कक्षा सञ्चालन गरेको हो।कम्प्युटरप्रतिको आकर्षणले विद्यालय आउने विद्यार्थीको संख्या वृद्धि भएको छ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारामा सोमबार बन्द आह्वान गर्दै हिडेका कांग्रेस कार्यकर्ता । बन्दले जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।    तस्बिर  : nagariknews.com                                                                                                              

Sunday, December 18, 2011

शेर्पा स्वात्त प्रदेश नभए बन्दुक बोक्ने चेतावनी

शेर्पा भेलामा स्याब्रु नाच प्रस्तुत गर्दै कलाकार । तस्बिर : मेरो चौतारा
प्रथम शेर्पा भेला 
तातोपानी पुस २-शेर्पा नेताहरुले शेर्पा स्वायत्त प्रदेश नबनाइए हतियार उठाउने चेतावनी दिएका छन् । जातिय पहिचान सहितको प्रदेश माग गर्दै उनीहरुले शेर्पा समुदायलाई पोष्टरमा मात्र सिमित हुन नदिने दृढता व्यक्त गरे । कार्यक्रममा बोल्ने राजनीतिक दलसम्वद्ध शेर्पा नेताहरुले जातीय पहिचानका लागि स्वायत्त प्रदेशको खाँचो औल्याउँदै शेर्पा हक हितका लागि कसैको ह्वीप नमान्ने र पार्टी त्याग्ने घोषणासमेत गरे ।

मुलुकको उपराष्ट्रपति भएकाले भाषा र पोशाकको अडान त्यागेको झाको प्रष्टोक्ती

तातोपानी पुस २-
आफू कुनै खास वर्ग िलंग र क्षेत्रको मात्र नभएर मुलुकको उपराष्ट्रपति भएकाले आफूले भाषा र भेषभुषाको पूर्व अडान त्यागेको उपराष्ट्रपति परमानन्द झाले खुलासा गरेका छन् । कानुनलाई मान्नु आफ्नो प्रमुख कर्तव्य भएकाले आफले अडान कायम राख्नु जरुरी नदेखेको उनले स्पष्ट पारे ।
त्यतिबेला अर्कै परिस्थिति रहेकाले आफ्नै भाषा र पोशाकमा सपथ लिएँ । अहिले परिस्थिति बदलिएकाले अडान त्यागे- दौरा सुरुवालमा सजिएका उपराष्ट्रपति झाले शनिबार प्रथम शेर्पा भेलाको उद्घाटन गर्दै भने । उपराष्ट्रपति नियूक्त हुँदा धोतीमा सजिएर हिन्दी भाषामा सपथ आएपछि विवादमा तानिएका झाले नेपाली भाषामा सपथ ग्रहण गरेका थिए ।

Thursday, December 15, 2011

क्षमता सात कैदीबन्दी ७१ ! महिला भवनमा उनीहरु नै बस्न पाउँदैनन्

सिन्धुपाल्चोक जिल्ला कारागारको दुर्दशा चौतारा मंसिर २९
सात जना क्षमताको कारागार भवनमा कति जना कैदीबन्दी राखिएलान्  साँघुरै गरी भएपनि १० देखि १५ जनासम्म राख्नु नेपालमा त्यति नौलो होइन । तर क्षमता भन्दाबढी कैदीवन्दी राख्नाले चितवन कारागारमा आपसमा आक्रमण भएको प्रतिवेदन सार्वजनिक भइरहेका बेला सातजना क्षमताको सिन्धुपाल्चोक जिल्ला कारागारमा ७१ कैदीबन्दी राखिएका छन् । 
कारागारमा बन्दी थपिने क्रम अझै जारी छ । आइतबार एक र सोमबार मात्र दुईजना थुनुवा बन्दी बनेर यही भवनमा छिरेका छन् । चितवन काण्डपछि सम्भावित घटनाले कारागार प्रशासनलाई चिन्ता थपेको छ । चितवन कारागारमा कैदीबन्दी आक्रमण घटनाले झस्काउन थालेको छ, यो घटनाको प्रतिवेदन साचार माध्यमबाट सार्वजनिक भएपछि चिन्तित निमित्त जेलर रमेश घिमिरेले भने । 

Wednesday, December 7, 2011

राजनीतिक अस्थिरताले सुरक्षा व्यवस्था कमजोर : महानिरीक्षक शाह


मेलम्ची, मङ्सिर २१ - प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले संक्रमणकालिन राजनीतिक अस्थिरताले सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको बताएका छन्। सुरक्षा विना विकास असम्भव रहेको उल्लेख गर्दै उनले राजनीतिक  स्थिरतामा जोड दिए।  
'राजनीतिक स्थिरताविना सुरक्षा सजिलो छैन,' इलाका प्रहरी कार्यालय मेलम्चीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक शाहले भने। 

नागरिक केन्द्रीत सुरक्षा व्यवस्था कायम गर्न संस्था गम्भिर रहेको उनले जनाए। सून्य सहनशिलताका आधारमा अपराध नियन्त्रण गरिने प्रतिवद्धता जनाउँदै उनले भने, 'अपराध नियन्त्रणमा ढिलासुस्ती र अनियमितता गर्ने प्रहरी कर्मचारीलाई जरुर कार्वाही गर्छौं।'

अपराध नियन्त्रण र सुदृढ सुरक्षा व्यवस्थाका लागि राजनीतिक दलको सहयोग चाहिने आवश्यकता औंल्याउँदै शाहले कुनै दलसँग निकटता र विशेष सम्वन्ध नराख्न मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए। 'दललाई समदुरीमा राखेर काम गर्न सक्नुपर्छ। टाढा हुने र नजिक बस्ने दुबैलाई कार्वाही हुन्छ,' प्रहरी चारणको अनुगमन गर्न आग्रह गरे। 

गैरकानुनी कमाइले अपराध बढाउने भन्दै उनले रक्तचन्दन तस्करी रोकिएको दाबी गरे। विगत सात महिनायता चन्दन कारोवार नभएको उनको ठोकुवा थियो। 'रक्तचन्दन लगायत सबै तस्करी नियन्त्रण गर्न प्रहरी प्रतिवद्ध छ। अब गैरकानुनी कमाइ नियन्त्रण हुन्छ।'

शान्ति सुरक्षा कायम गर्न हाललाई ४२ हजार प्रहरी कर्मचारी आवश्यक रहेको जानकारी दिंदै महानिरीक्षक शाहले भएका स्रोत साधन र जनशक्ति परिचालन गरेर सुव्यवस्था राख्न प्रयास गरिने बताए। द्वन्द्वमा सबैभन्दा बढी क्षति र पीडा व्यहोर्ने संस्था प्रहरी संगठन भएको चर्चा गर्दै उनले ध्वस्त संरचना पुननिर्माण तीव्र पारिने बताए। द्वन्द्वमा ७ सय ६८ प्रहरी भवन ध्वस्त हुनुको साथै १३ सय प्रहरीले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै शाहले गत वर्ष १ सय ध्वस्त प्रहरी संरचना बनेको र यो साल थप ८१ वटा बनाउन छिट्टै टेण्डर प्रक्रियामा जाने बताए। 

७८ लाख रुपैयाँ लागतमा मेलम्ची प्रहरी भवन निर्माण भएको हो। भुकम्प प्रतिरोधात्मक दुईवटा भवनमा कार्यालय, महिला पुरुषका लागि छुट्टैछुट्टै दुई हिरासत, व्यारेक, मेशको व्यवस्था छ। महानिरीक्षक शाह साँझ जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवन शुक्रबार उद्घाटन गर्न त्यसतर्फ लागेका छन्। दोलखा सदरमुकाम चरिकोटमा रात विताएर शाह बिहान रामेछाप जाने कार्यक्रम छ।
नागरिक