Saturday, October 15, 2011

दसैं खर्चका लागि वृद्ध दम्पती मार्ने युवकद्वय सार्वजनिक

'दसैं खर्च जुटाउन' घटस्थापनाका दिन भएको सुनखानी–२ का वृद्ध तामाङ दम्पतीको हत्या प्रकरणका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न गाउँकै युवकद्धय १७ वर्षीय हिरालाल तामाङ र १८ वर्षीय कारसाङ तामाङलाई सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलमा अभियुक्तद्वयले दसैं खर्चका लागि आफूहरुले वृद्ध दम्पतीको हत्या गरेको स्वीकारे। उनीहरुले भने- पैसामात्र लिने योजना रहे पनि लौराले टाउकोमा हान्दा दुवै मरेछन्।' कुवेतमा रहेकी एक्ली सन्तानको कमाइमा बाँचेका दम्पती ७५ वर्षीय मरिचमान तामाङ र ६५ वर्षीया सीता तामाङको शव सडे/गलेको अवस्थामा फूलपातीका दिन १६ गते गाउँलेले घरमै फेला पारेका थिए।

प्रहरीले अभियुक्तसँगै उनीहरुले वृद्धा सीताबाट लुटेको १ तोलाका दुई वटा सुनको रिङ र यो बिक्रीबाट प्राप्त नगदसमेत सार्वजनिक गरेको थियो। उनीहरुका अनुसार सुन लिएर भाग्दा घाइते अवस्थामा दुवै भुइँमा छटपटाइरहेका थिए। डिएसपी वसन्तकुमार लामाले समयमै गाउँलले थाहा पाएर उपचार पाएको भए दुवैलाई बचाउन सकिने अवस्था रहेको बताए। 'घटनाक्रमले वृद्धवृद्धाको केही दिनपछि मात्र मृत्यु भएको देखिन्छ। कसैले थाहा नपाउँदा छटपटाउँदा छटपटाउँदै मरे'- उनले भने। तामाङ दम्पतीको घर गाउँबाट डेढ किलोमटिरको दूरीमा एकान्तमा रहेकाले गाउँलेले घटनाको ६ दिनमा मात्र थाहा पाएका थिए।

मृतक वृद्धावृद्ध नातामा अभियुक्त दुवैका ठूला बा, ठूली आमा पर्छन्। खर्च अभाव भएपछि घटनाकै दिन दिउसो स्थानीय मानेडाँडामा नगद र गहना लुट्ने योजना बनाएको र योजना मुताविक त्यही साँझ सात बजे दोस्रो पटकको प्रयासमा दुवैलाई घाइते बनाएर सुन हात पारेको उनीहरुले बताए। 'भान्सामा काम गरिरहेकी ठूली आमालाई लौराले टाउकोमा हानेर कानमा लगाएको सुन माग्यौं। नदिएपछि फेरि अर्को पटक टाउकोमै हान्दा उनैले फुकालेर दिइन्', अभियुक्तले भने- ठूलाबा कराउँदै पिँढीमा आएपछि उनलाई पनि टाउकोमै हानेर ढालेपछि भाग्यौं।

प्रहरीले अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा अघि बढाएको छ। दुवैलाई बिहीबार जिल्ला अदालतमा प्रस्तुत गरी अनुसन्धानका लागि १५ दिनको म्याद लिएको डिएसपी लामाले बताए। घटनाको जानकारीपछि तीन वर्षदेखि कुवेत रहेकी तामाङ दम्पतीकी एक्ली छोरी काजकिरयाका लागि बुधबार गाउँ आइपुगेकी छिन्।

No comments:

Post a Comment