Saturday, October 15, 2011

माओवादी सभासद् श्रेष्ठले फेसबुक स्टाटस लेखे, 'कुकुरहरु भुक्दै गर्छन्'

नागरिक , २०६८
ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार २८- पार्टीभित्रैबाट रक्तचन्दन तस्करी गरेको आरोप खेपिरहेका माओवादी सभासद् राजकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेका छन्। पछिल्ला २४ घण्टाबीचमा लगातार चार वटा स्टाटस लखेर उनले आरोप लगाउनेलाई लक्षित गरी तीव्र आक्रोश पोखेका हुन्। 




उनले सोमबार एकैदिन ती स्टाटस लेखेका थिए। पहिलो स्टाटस लेखेको एक घण्टापछि उनले एकै पटक तीन स्टाटस लेख्‍न भ्याएका छन्। सूचना तथा सञ्चारमन्त्री अग्नी सापकोटाले श्रेष्ठलाई जुवाघरबाट पक्राउ गरेको र उनी रक्तचन्दन तस्करी भएको आरोप लगाएका थिए। सापकोटाको आरोपविरुद्ध छानबिन माग गर्दै शुक्रबार श्रेष्ठले पार्टी स्थायी समितिमा लिखित निबेदन दिएपछि दुबै नेताबीच आरोप-प्रत्यारोप चल्दै आएको छ। यसको छानबिन गर्न पार्टीले नेतात्रय अमिक सेरचन, वर्षमान पुनः र दिनानाथ शर्मा सम्मिलित समिति नै गठन गरिसकेको छ।



उनले स्टाटसमा नेता सापकोटाप्रति लक्षित गर्दै 'कुकर' र 'डाँका'जस्ता तल्ला स्तरका शब्द प्रयोग गरेर तीव्र आक्रोश व्यक्त गरेका छन्।


'गोएबल्सका चेलाहरु भ्रामक कुराहरु प्रचार गरेर आत्मरती लिएरहेका छन्,' उनले नेपाली युनिक अक्षरमा पहिलो स्टाटस लेखेका छन्। उनले दोस्रो स्टाटसमा बाघ र बिरोलोको मुखको पुरानो लोकोक्ति मिल्नेगरी पार्टीभित्रै शत्रु रहेको संकेत गरेका छन्। पहिलो स्टाटस लेखेको एक घण्टापछि दोस्रो स्टाटस लेखेर सभासद् श्रेष्ठले भनेका छन्, 'बाघको मुख हेर्नु परे बिरालोको मुख हेर्नु शत्रुको मुख हेर्नु परे पार्टीका साथीहरुको मुख हेर्नु भनी उखान बनाउनुपर्ने भो।'


लगत्तै लेखिएको अर्को स्टाटसमा भनिएको छ, 'डाँकाहरु आफूले गरेको अपराध छोप्न अर्कालाई आरोप लगाउँछन्।' हिज्जे र शुद्धाशुद्धी नमिलेको यो स्टाटसमा उनले 'अपराध छोप्न' लेख्‍न खोजेको बुझिन्छ। यो स्टाटसमा श्रेष्ठले मन्त्री सापकोटाले आफ्नो अपराध लुकाउन आफूलाई आरोप लगाएको भन्ने संकेत गरेका छन्। 'कुकुरहरु भुक्दै गर्छन्, हात्ती लम्कदै गर्छन्,' उनको अन्तिम यो स्टाटसले आरोप लगाए पनि आफू वास्ता नगरी अघि बढ्ने सन्देश दिन खोजेका छन्।


सिन्धुपाल्चोक गृहजिल्ला भएका सापकोटा र श्रेष्ठ ताम्सालिङ राज्य समितिमा क्रमशः इन्जार्च र सचिवालय सदस्य छन्। संविधान सभाको निर्वाचनपछि उनीहरुबीच चिसिँदो सम्बन्ध यतिबेला पानी बाराबारको स्थितिमा पुगेको जिल्ला पार्टी स्रोतले बतायो। सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठ उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर हुन्। श्रेष्ठ र जिल्ल्लाकै अर्का सभासद् दावा तामाङले जिल्ला पार्टीमा सापकोटा परिवार हावी भएको र एकलौटी गर्न खोजेको आरोप सापकोटामाथि लगाउँदै आएका छन्। सापकोटा पक्षले भने रक्तचन्दन तस्करी गरेको र तातोपानी नाकाका व्यापारीसँग फाइदा लिएको आरोप श्रेष्ठमाथि लगाएको छ। श्रेष्ठले जिल्ला समिति सदस्य रहेका आफ्ना बहिनी ज्वाँइ भीमप्रसाद पराजुलीलाई अघि सारेर रक्तचन्दन तस्करी गरिरहेको सापकोटा पक्षको आरोप छ।


सभासद् श्रेष्ठले भने फरक विचार राखेकै कारण आफूमाथि नियोजित रुपमा सापकोटाले आरोप लगाएको बताए। 'विचारमा हारेपछि बौलठ्ठीपूर्ण र कायरतापूर्वक षड्यन्त्र गरिएको हो,' उनले नागरिकसँग भने। ज्वाइलाई अघि सारेर चन्दन तस्करी गर्नु हुन्छ रे'नि? भन्ने प्रश्नमा श्रेष्ठले भने, 'उनी मेरो ज्वाइ र कार्यकर्ता दुवै हो। उसले के गर्छ मलाई थाहा हुने कुरा भएन।' कार्वाही हुने डरले विषय अन्तर गर्न श्रेष्ठले उजुरी हालेका सापकोटा पक्षका नेता कार्यकर्ताको तर्क छ। 'पार्टी केन्द्रले गम्भिरतापूर्वक छानबिन गरे को दुधको पानी भनेर तत्काल छुट्टिन्छ,' सापकोटा पक्षका एक जिल्ला सदस्यले दाबी गरे।


No comments:

Post a Comment