Monday, December 19, 2011

माछा मार्ने हातमा कम्प्युटरको किबोर्ड

तस्बिर : कम्प्युटर कक्षा िलंदै माझी दनुवार बालबालिका ।
सिन्धुपाल्चोक, पुस ५- माछा मार्ने र खोलामा खेलेर दिन बिताउने भीमटारका माझी, दनुवार बालबालिका यतिबेला कम्प्युटरको माउस र किबोर्ड चलाएर समयको सदुपयोग गर्छन्। इन्द्रावती नदी किनारको पिछडिएका अल्पसंख्यक माझी, दनुवार बस्तीको भीमेश्वरी माध्यमिक विद्यालयले कम्प्युटर शिक्षा सञ्चालनमा ल्याएपछि बालबालिका दंग छन्। 
यहाँका ९५ प्रतिशतभन्दा बढी माझी, दनुवार समुदायले नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। उनीहरूका बालबालिका अध्ययन गर्ने यो विद्यालयले गत मंसिरदेखि कम्प्युटर कक्षा सञ्चालन गरेको हो।कम्प्युटरप्रतिको आकर्षणले विद्यालय आउने विद्यार्थीको संख्या वृद्धि भएको छ।

'विद्यार्थी अनियमिता रोक्ने उपायअनुरुप कम्प्युटर शिक्षा सुरु गरेका थियौं,' प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भने, 'सोचेको जस्तै भयो, खेलेर दिन बिताउने बालबालिका नियमित विद्यालय आउन थालेका छन्।' विद्यालयले पाँचदेखि १० कक्षाका विद्यार्थीलाई कम्प्युटर शिक्षा दिँदै आएको छ। विद्यालयले ऋण-धन गरेर १० वटा कम्प्युटर व्यवस्था गरेको हो। निजी स्रोतमा कम्प्युटर शिक्षक नियुक्त गरिएको छ। 
गाउँमा बिहेबटुलो तथा पर्व पर्दा विद्यार्थी अभावले सुनसान हुने विद्यालयको दैनिकीसमेत बदलिएको छ। कम्प्युटरलाई ऐच्छिक विषयको रुपमा सञ्चालन गरिएको छ। 'दिउँसो एक बजे खाजा खान गएपछि नफर्कने विद्यार्थी अन्त्यसम्म विद्यालयमै टिक्न सकेका छन्,' प्रअ श्रेष्ठले कम्प्युटरले ल्याएको परिवर्तन सुनाए।
आयस्रोत र चेतनास्तर कम भएको बस्तीमा पनि कम्प्युटरप्रतिको मोह देखेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर दनुवार दंग छन्। 'पढ्नभन्दा खेल्न रुचाउने विद्यार्थी यसरी कम्प्युटरमा झुम्मेलान् भनेर सोचेकै थिएनौं,' दनुवारले भने। प्रविधिप्रति विद्यार्थीमा चासो बढ्दै गएको उनको अनुभव छ। गाउँकै सुमन दनुवारलाई कम्प्युटर शिक्षक राखिएको छ।
उनकाअनुसार दनुवारकै सन्तानले पढाउने भएपछि सिकिराखे अवसर पाइने रहेछ भन्ने लागेर पनि विद्यार्थीमा कम्प्युटरप्रति मोह बढेको हो। शैक्षिक अवस्था कमजोर भएको गाउँको यो विद्यालयले स्थानीय दनुवार युवायुवतीलाई शिक्षण गर्ने अवसर पनि दिएको छ। स्थानीयलाई नै दिएको रोजगारी र कम्प्युटर शिक्षाले बाहिर रहेका विद्यालय उमेरका बालबालिकाको संख्या उल्लेख्य घटाएको छ। 'कम्प्युटर शिक्षा दिनुअघि मुस्किलले ५० प्रतिशत विद्यार्थी विद्यालय आउने गरेकोमा आजकाल पूरै उपस्थित हुन्छन्, ' प्रधानाध्यापक श्रेष्ठले तथ्यांक पेश गरे।
  नागरिक 

No comments:

Post a Comment