Wednesday, December 7, 2011

राजनीतिक अस्थिरताले सुरक्षा व्यवस्था कमजोर : महानिरीक्षक शाह


मेलम्ची, मङ्सिर २१ - प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले संक्रमणकालिन राजनीतिक अस्थिरताले सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको बताएका छन्। सुरक्षा विना विकास असम्भव रहेको उल्लेख गर्दै उनले राजनीतिक  स्थिरतामा जोड दिए।  
'राजनीतिक स्थिरताविना सुरक्षा सजिलो छैन,' इलाका प्रहरी कार्यालय मेलम्चीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक शाहले भने। 

नागरिक केन्द्रीत सुरक्षा व्यवस्था कायम गर्न संस्था गम्भिर रहेको उनले जनाए। सून्य सहनशिलताका आधारमा अपराध नियन्त्रण गरिने प्रतिवद्धता जनाउँदै उनले भने, 'अपराध नियन्त्रणमा ढिलासुस्ती र अनियमितता गर्ने प्रहरी कर्मचारीलाई जरुर कार्वाही गर्छौं।'

अपराध नियन्त्रण र सुदृढ सुरक्षा व्यवस्थाका लागि राजनीतिक दलको सहयोग चाहिने आवश्यकता औंल्याउँदै शाहले कुनै दलसँग निकटता र विशेष सम्वन्ध नराख्न मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए। 'दललाई समदुरीमा राखेर काम गर्न सक्नुपर्छ। टाढा हुने र नजिक बस्ने दुबैलाई कार्वाही हुन्छ,' प्रहरी चारणको अनुगमन गर्न आग्रह गरे। 

गैरकानुनी कमाइले अपराध बढाउने भन्दै उनले रक्तचन्दन तस्करी रोकिएको दाबी गरे। विगत सात महिनायता चन्दन कारोवार नभएको उनको ठोकुवा थियो। 'रक्तचन्दन लगायत सबै तस्करी नियन्त्रण गर्न प्रहरी प्रतिवद्ध छ। अब गैरकानुनी कमाइ नियन्त्रण हुन्छ।'

शान्ति सुरक्षा कायम गर्न हाललाई ४२ हजार प्रहरी कर्मचारी आवश्यक रहेको जानकारी दिंदै महानिरीक्षक शाहले भएका स्रोत साधन र जनशक्ति परिचालन गरेर सुव्यवस्था राख्न प्रयास गरिने बताए। द्वन्द्वमा सबैभन्दा बढी क्षति र पीडा व्यहोर्ने संस्था प्रहरी संगठन भएको चर्चा गर्दै उनले ध्वस्त संरचना पुननिर्माण तीव्र पारिने बताए। द्वन्द्वमा ७ सय ६८ प्रहरी भवन ध्वस्त हुनुको साथै १३ सय प्रहरीले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै शाहले गत वर्ष १ सय ध्वस्त प्रहरी संरचना बनेको र यो साल थप ८१ वटा बनाउन छिट्टै टेण्डर प्रक्रियामा जाने बताए। 

७८ लाख रुपैयाँ लागतमा मेलम्ची प्रहरी भवन निर्माण भएको हो। भुकम्प प्रतिरोधात्मक दुईवटा भवनमा कार्यालय, महिला पुरुषका लागि छुट्टैछुट्टै दुई हिरासत, व्यारेक, मेशको व्यवस्था छ। महानिरीक्षक शाह साँझ जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवन शुक्रबार उद्घाटन गर्न त्यसतर्फ लागेका छन्। दोलखा सदरमुकाम चरिकोटमा रात विताएर शाह बिहान रामेछाप जाने कार्यक्रम छ।
नागरिक 

No comments:

Post a Comment