Monday, November 21, 2011

तीन दिनमै ५० हजारले सिन्धु महोत्सव अवालोकन गरे

चौतारा मंसिर ५

-सिन्धुपाल्चोक महोत्सवको तेस्रो दिन सोमबारसम्म करिव ५० हजारले अवलोकन गरेका छन् । स्थानीय तथा आन्तरिक पर्यटकको बढ्दो भीडले महोत्सव भव्य बनिरहेको छ । बुधबारसम्म चल्ने महोत्सवको थप ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

७० स्टलमा राखिएका उत्पादनको विक्री तथा प्रदर्शनीमा सहभागी झुम्मिएका छन् भने व्यापार पनि बढाएको छ । हिमाली दोलंसाको सिस्नो र ढिडो सीमा नाका तातोपानीको ट्राउट माछा राडी पाखी बख्खु घरेलु उत्पादन क्यूरियो सामग्री लघु उद्यमीका उत्पादन लप्सी अदुवाको अचार क्याण्डी लाली गुराँशको सर्वत बाँस र निगालाका समानले आकर्षण थपेको छ ।
लघु व्यवासयीका उत्पादनले राम्रो बजार पाएको जिल्ला लघु उद्यम संघका अध्यक्ष गोपाल सापकोटाले बताए । कृषि स्वास्थ्य र शैक्षिक प्रदर्शनीमा समेत सहभागीको भीड छ । जिल्लामा उत्पादित अर्गानिक कफीले पनि राम्रै बजार लिइरहेको छ ।
ुसिन्धुपाल्चोक समृद्धिको आधार कृषि पर्यटन र व्यापारु भन्ने मूल नाराकासाथ जिल्ला समृद्धिको आधार खोज्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आयोजकका अनुसार ७० जनाले हेलिकप्टर सफारीद्धारा सिन्धुपाल्चोक भ्रमण गरेका छन् । डाइनेस्टी हेलिकप्टरले आइतबार र सोमबार गरी १४ फ्ल्याइटमा उनीहरुलाई घुमाएको हो । २५ मिनेट हेलिकप्टर सफारीको प्रतिव्यक्ति ७ हजार रुपैयाँ शुल्कमा सहभागीले पाँचपोखरी हेलम्बु भैरवकुण्ड तातोपानी नाका जस्ता पर्यटकीयस्थल घुम्न पाएका हुन् ।
साहसिक खेलको प्रवर्दन गर्न आयोजकले सोमबार दलका नेता सरकारी कर्मचारी उद्योगी व्यवसायी लगायतलाई सुनकोसीमा र् याफ्टिङ कायाकिङ खेलाएको छ । महोत्सवको अर्को आकर्षण साहसिक खेल खेल्न भीड लागेको थियो । सोमबारै सरोकारवालालाई ऐतिहासिक नेपाल-तीब्बत युद्धकिल्ला दुगुनागढीको भ्रमण गराइएको छ ।
महोत्सवकै अवसर पारेर मोबाइलसेवा प्रदायक कम्पनी स्मार्ट सेलले निशुल्क सिमकार्ड वितरण गरिरहेको छ । सोमबारसम्म १ सय २५ रुपैयाँ ब्यालेन्स भएको ४ हजार सिम वितरण भएको कम्पनीले जनाएको छ । महोत्सव अवधिभर निशुल्क सिम वितरण गरिने कम्पनीको योजना छ । महोत्सव समापनको दिन बुधबार राजनीतिक सहमतिमा घोषणापत्रको रुपमा सिन्धुपाल्चोक विकासको १० वर्षे कार्ययोजना सार्वजनिक गरिने कार्यक्रम छ ।

No comments:

Post a Comment