Wednesday, November 9, 2011

गाईले राति दूध चढाएपछि गौराती

आजबाट तीनदिन गौराती मेला



सदरमुकाम चौताराबाट उत्तर । मनोरम प्राकृतिक सौन्दर्य । धुपी र पाटे सल्लाको हरियाली । बाहै्रमास सिरिर्र बगिरहने सिरेटो । पाटाभरी झुलेका गोदोको बाला । जुगल हिमश्रृंखलालाई शिर बनाएर बसेको थुम्को । त्यही थुम्पोमा ऐतिहासिक गौराती भीमेश्वरको मन्दिर छ । यहाँ हरेक वर्षको कात्तिक पूर्णिमाका दिन भव्य मेला लाग्छ ।
मनोकांक्षा पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु भक्तिपूर्वक भीमेश्वरको पूजाअर्चना गर्छन् । मुलुकका विभिन्न स्थानबाट हजारौं भक्तजनहरु आउँछन् । सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कामय राख्दै मेलालाई दसैं तिहार जत्तिकै महत्वपूर्ण चाडका रुपमा मनाउँछन् ।
जिल्लाकै ठूलो पर्व मानिएकाले त्यस दिन यहाँका सबै शैक्षिक संस्थामा सार्वजनिक विदा दिने प्रचलन छ । गौराती भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । बृद्ध हुन् या केटाकेटी युवायुवती हुन् या अधबैंसे सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् । हालको गौराती थुम्कोमा भर्खरै ब्याएकी गाईले सँधै लुकेर दूध चढाउने गरेको र यो स्थानबाट दिब्यस्वरुप प्रकट भई ुमेरो पूजाआजा गरे भलो हुनेु बताएपछि भीमेश्वर उत्पत्ति भएको विश्वासले पूजाआजा सुरु भएको कहावत छ । गाईले राति दूध चढाएपछि त्यस ठाउँको नाम गौराति गौराती रहन गएको धार्मिक मान्यता छ ।
कात्तिक पूर्णिमाका दिन मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु जाग्राम बस्छन् । मनोकांक्षा पूरा गर्न भक्तजनहरुले भीमेश्वरमा बत्ती बाल्ने र पशुबलि दिने भाकल पहिल्यै गरेका हुन्छन् । कसैले आफ्नो मनौती मनाउन पाँचै बाजासहित भीमेश्वरलाई बलि दिने र विवाहित युवायुवतीले सन्तान नहुँदै बोकाको बलि चढाउने गर्छन् । मन्दिरमा पूर्णिमाका पाँचदिन अघिदेखि पाँचदिन पछिसम्म बत्ती बालिन्छ ।
भीमेश्वर कति पुरानो भन्ने एकिन प्रमाण फेला नपरेपनि वि।सं। १६४२ मा मन्दिरमा दलबहादुर कुँवरले चढाएको घण्टाको आधारमा ४ सय २६ वर्षभन्दा बढी पुरानो मानिन्छ । ०५६ मा मन्दिरलाई पुनर्निमाण गरेपछि भीमेश्वर मन्दिर र त्यस स्थलको सौन्दर्य बढेको छ । १४ लाख रुपैयाँ लागतमा पुनर्निमाण गरिकएको मन्दिरको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्याले शिलाअनावरण गरेका थिए ।
पूर्णिमाको दिन चौतारा बजारको भीमेसेनको मूर्तिलाई पूजाआजा गरी रथमा राखेर गौराती लगिन्छ । यसलाई रथ जात्रा भनिन्छ । नेवार समुदायका गुठियारले पाचैबाजासहित रथ कतै नरोकी चुँदुवाडाँडा पुर् याउँछन् । गौरातीबाट आएका गुठियारले त्यहाँ बलि दिएर स्वागत पूजा गर्छन् । त्यसपछि गुठियारको घर-घरमा बिसाउँदै गौराती पुर् याएर भीमसेन र भीमेश्वरको मिलन गराइन्छ । पूर्णिमाको भोलिपल्ट अगाली पूजा गरिन्छ । भक्तजनहरु पूजाआजा गर्छन् गुठियारहरुले बलि दिन्छन् । त्यसपछि काटमार बन्द हुन्छ ।
बिदाई पूजाका साथ भीमसेनको रथलाई बेलुकी पख पुनः सदरमुकाम ल्याइन्छ । रथका भीमसेनलाई जिल्ला न्यायाधीश प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले बलि चढाई पूजा गर्छन । गुठीयारको घर-घरमा विसाउँदै तीन दिनपछि भीमसेनलाई मन्दिरमा भित्र्याएपछि गौराती मेला सकिन्छ ।
पूर्णिमाका दिन मन्दिर परिशरमा शिषेश चहलपहल हुन्छ । बूढापाकाहरु रातभर जाग्राम बसेर पूजाआजाका साथ भजनकीर्तनमा नतमस्तक हुन्छन् । ठिटाठिटीहरु दोहोरीमा लठ्ठिन्छन् । सेल रोटी रक्सी सुन्तला लगायत स्थानीय उत्पादनको व्यापार बढ्छ । सदरमुकाम चौताराबाट चार किलोमिटर पैदल या गाडी यात्राद्धारा गौराती पुग्न सकिन्छ । गौराती क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएपनि कार्यान्वयन नहुँदा भने धार्मिक पर्यटनको विकास सोचेजति हुन सकेको छैन ।

No comments:

Post a Comment