Tuesday, November 8, 2011

२ अपहरणकारी २ लाख फिरौतीसहित प्रहरीको फन्दामा

अपहरित बालक तीन दिनमा मुक्त
ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक २२


- तीन दिनअघि अपहरित आठ वर्षे भारतीय बालक सञ्जय साहलाई अपहरण मुक्त गर्दै प्रहरीले अपहरणकारीलाई फिल्मी शैलीमा पक्राउ गरेको छ। बालक अपहरण मुक्त भएको चार घण्टापछि अपहरणकारीलाई फिरौतीसहित पक्रन
प्रहरी सफल भएको हो।
पीडित परिवारले बुझाएको २ लाख फिरौतीमध्ये १ लाख ९३ हजार रुपैयाँसहित अपहरणकारी मार्मिङ-४ का छेदेन लामा (२२) र गाती-४ का ज्ञानबहादुर तामाङ (२३) सोमबार राति अरनिको राजमार्गको बन्जीबाट पक्राउ परेका हुन्। राम्चे-७ बाह्रविसे बजारस्थित डेरामा बाबुआमासँगै बस्ने बालक सञ्जय शनिबार दिउँसो अपहरणमा परेका थिए।
स्थानीय केतु इंलिस बोर्डिङ स्कुलको कक्षा दुईमा अध्ययनरत सञ्जय विदाको दिन खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए। भारत मोतिहारीको तीन सदस्यीय साह परिवार १७ वर्षदेखि बाह्रविसे बजारमा कस्मेटिक र पान पसल व्यवसाय गरी बस्दै आएको छ। 'तीन दिनको अथक प्रयासपछि यो सफलता मिल्यो,' सदरमुकाम चौतारामा अपहरणकारी सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर कुमार पण्डित क्षेत्रीले भने।
माग अनुसार फिरौती बुझाउन गएका सञ्जयका बाबु विजयलाई पछ्याउँदै सादा पोशाकमा खटिएको इन्स्पेक्टर क्षेत्री नेतृत्वको टोलीले पहिले बालकलाई उद्दार गर्दै पछि अपहरणकारीलाई पक्रेको हो। बालकका बाबु विजयका अनुसार अपहरणको दिन साँझ सञ्जय आफूहरुसँग सुरक्षित रहको र घर फर्कने बताएका उनीहरुले भोलिपल्ट आइतबार विहान फोन गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए। नदिए बालकलाई मार्ने धम्की अपहरणकारीले दिएपछि उनी प्रहरी सम्पर्कमा पुगेका थिए। प्रहरीले पीडितका बाबुसँग योजना बनाउँदै बालक बेपत्ता भएको मात्र भनेर गोप्य ढंगले अनुसन्धान अघि बढाएको थियो।
५ लाख मागेपनि लगातारको बार्गेनिङपछि सोमबार बिहान २ लाख रुपैयाँ फिरौतीमा अपहरणकारी र पीडित परिवारबीच सहमति भएको थियो। बजारबासीले आधा घण्टाको बीचमा फिरौती रकम जुटाइ दिएको विजयले बताए। 'अपहरणकारीसँग भएको सबै गतिविधि प्रहरीलाई निरन्तर जानकारी दिइरहें,' उनले भने। अपहरणकारीले मेरो मोवाइलका तीन वटा नम्बर प्रयोग गरेर फिरौती बार्गेनिङ गरेका थिए।
फिरौती रकम दिने, बालक उद्दार गर्ने र अपहरणकारीलाई समेत पक्रने योजना प्रहरीसँग बनाएर सञ्जय सोमबार विहान १० वजे पैसा बुझाउन पूर्वसहमति स्थल मार्मिङको चाकु बजार पुगे। इन्स्पेक्टर क्षेत्रीसहित चार प्रहरी सादा पोशाकमा निजी कार र मोटरसाइकलमा पहिल्यै त्यहाँ पुगिसकेका थिए। तीन ठाउँ परिवर्तन गर्दै अपहरणकारीको निर्देशन अनुसार विजयले मार्मिङ नजिक जंगलमा रकम ढुंगाले थिचेर राखे। 'मेलै नदेखेपनि उनीहरुले मेरो सबै गतिविधि देखिरहेका थिए। उनीहरुसँग भएका कुरा प्रहरीलाई लगातार जानकारी दिइरहें,' उनले भने। फिरौती बुझेको आधा घण्टापछि दिउँशो सवा तीन वजेतिर अपहरणमुक्त हुँदै बाबु रहेको स्थल मार्मिङ आइपुगे।
बालकको जानरकारीका आधारमा उपहरणकारी भाग्ने सम्भावित ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेर सर्च अभियान चलाइएको थियो। यसक्रममा प्रहरीले दुईतर्फी रुपमै गाडी र व्यक्ति रोकेर अपहरणकारीले प्रयोग गरेका तीनवटै मोबाइल दबाउँदै जाँदा उनीहरु पक्राउ परेको इन्स्पेक्टर क्षेत्रीले बताए। 'तातोपानीबाट काठमाडौं आउँदै गरेको निजी कार रोकेर मोबाइल दबाउँदा तीनमध्ये उनीहरुका साथबाट दुईवटा सीम नम्बरमा घण्टी गयो,' उनले भने। क्षेत्रीका अनुसार मादक पदार्थ समेत सेवन गरेका उनीहरु कार रिजर्व गरेर काठमाडौं भाग्दै थिए।
अपहरणकारीले ९८१३७०३६०५,९८१८७८९६५४ र ९८१३७९१२९९ नम्वरको सीमकार्ड प्रयोग गरेका थिए। तीमध्ये पछिल्ला दुई सीमसहितको मोवाइल प्रहरीले बरामद गरेको छ। रकमको लागि अपहरण गरेको स्वीकारेका अपहरणकारीले फिरौती बापत पाएको केही रकम खर्च गरेको बताएका छन्।

यसरी बन्यो अपहरण योजना
प्रहरीका अनुसार घटनाको प्रमुख योजनाकार छेदेन हुन्। उनले अपहरणको १५ दिनअघि योजना बनाएको बताए। उनकी दिदी पाशाङ डोल्मा साह परिवारको डेरा नजिक डेरै गरेर बस्दै आएकी छिन्। छेदेन बारम्बार दिदीकोमा आउजाउ गरिरहन्थे। भारतबाट झेरेर ०५१ सालदेखि बाह्रविसेमा व्यवसाय गरी बसेका साह परिवारका बालक छोरादेखि पछि पैसाको लागि अपरहण गरको प्रहरीको भनाइ छ। अपहरणपछि उनीहरुले बालकलाई गातीको विभिन्न स्थल हुँदै विकट लिस्तिमाइको मन्दिरसम्म पुर्‍याएर लुकाएका थिए।
यसैबीच बाह्रविसेबासीले अपहरणकारीलाई कडा कार्वाहीको माग गर्दै मंगलरबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। बस रिर्जव गरेर झण्डै सयको संख्यामा आएका उनीहरुले आर्थिक र राजनीतिक चलखेल हुन सक्ने भन्दै प्रहरी प्रमुख डिएसपी बसन्तकुमार लामालाई सुझाए। 'अपहरण घटना जिल्लामै पहिलो हो। कानुन अनुसार कार्वाही गर्न कुनै शक्तिले रोक्न सक्दैन,' उनले बाचा गरे। यसअघि उनीहरुले बालक अपहरण मुक्त भएको र अपहरणकारी पक्रेको खुशियालीमा सोमबार राति बाह्रविसे बजारमा प्रहरीको पक्षमा नाराबाजी गरे। यो क्रममा स्थानीयले अपहरणकारीलाई कडा कार्वाहीको माग गर्दै घटनामा सफल भएका प्रहरी र साह परिवारलाई खादा र सिन्दुर लगाएर बजार परिक्रमासमेत गराएका थिए।

प्रहरी पुस्कृत
बालक अपहरणमुक्त गराउँदै अपहरणकारी पक्रन सफल सइसहितका ६ प्रहरी पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालयले उनीहरुको कामको प्रसंशा गर्दै मंगलबारै नगदद्वारा पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरुमा सई कृष्ण थापा, हवाल्दारद्धय सूर्य माझी, हरि कार्की तथा जवानहरु राजन खत्री, महेन्द्र पौडेल र सहकुल थापा छन्। अर्का जवान देबबहादुर भुजेललाई भने एक तह बढुवाका लागि सिफारिस गरिएको डिएसपी लामाले जानकारी दिए।
-नागरिकबाट

No comments:

Post a Comment