Wednesday, November 9, 2011

आदिबासी जनजातिको राष्ट्रिय भेला भोलिदेखि

सिन्धुपाल्चोक, कात्तिक २३ - नेपाल आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय भेला बिहीबारदेखि सदरमुकाम चौतारामा सुरु हुँदैछ। दुई दिन चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापक महासंघ जिल्ला समन्वय परिषद्ले
जनाएको छ।
'आदिबासी जनजातिको आह्वान, आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको नयाँ संविधान' भन्ने मूल नाराका साथ हुन गइरहेको भेलामा बुधबारदेखि देशभरिबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ। आयोजकका अनुसार संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहीबार एक समारोहबीच भेलाको उद्घाटन गर्नेछन्।
कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, अर्थमन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री गोपाल किराँती लगायत अतिथि आमन्त्रित छन्। महासंघ आवद्ध विभिन्न संस्था र ६८ जिल्ला समन्वय परिषद्बाट ३ सय बढी प्रतिनिधिले भेलामा भाग लिने सिन्धुपाल्चोक परिषद्का अध्यक्ष टासी लामा ह्योल्मोले बताए।
शुक्रबार हुने बन्दसत्रबाट आदिबासी जनजातिको अधिकार र समसामयिक राजनीतिबारे चौतारा घोषणापत्र जारी गर्दै भेला सकिने छ। बन्दसत्रमा आर्थिक, सांगठानिक लगायत प्रतिवेदन प्रस्तुत गर्दै पूर्वनिर्धारित एजेण्डामा छलफल गरेर पारित गर्ने कार्यक्रम समेत छ।
भेलाको बन्दसत्रमा छलफलका लागि संविधानमा आदिवासी जनजातिको सुनिश्चितता खोज्न जारी दबाबमूलक कार्यक्रम, आइएलओ सन्धिको दफा १६९ को प्रभावकारी कार्यन्वयन, महासंघको प्रस्तावित नयाँ सांगठानिक संरचना लगायत एजेण्डा तय गरिएको छ। बन्दसत्रबाट पारित हुने यिनै एजेण्डाका निचोडलाई चौतारा घोषणापत्रको रुपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।
www.nagariknews.com

No comments:

Post a Comment