Saturday, June 29, 2013

समृद्ध बनाउन आठ बुँदे प्रतिबद्धता जाहेर गर्दै सिन्धुपाल्चोक महोत्सव सकियो

दस्तावेज–२०६८ मंसिर

2011-11-23 07:46:09 | ध्रुव दंगाल

 समृद्ध सिन्धुपाल्चोकको लागि आठ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै बुधबार सिन्धुपाल्चोक महोत्सव सकिएको छ। आपसबीचको सहअस्तित्व स्वीकार गरी जिल्लाको विकासका लागि सहमती, सहकार्य र एकता कायम राख्ने सामूहिक उद्‍घोष गर्दै यहाँ क्रियाशिल आठ राजनीतिक दलको तर्फबाट प्रतिबद्धतापत्र जारी भएको हो।
सबै पक्षलाई क्रियाशिल बनाइ विकासको मार्गमा अघि बढ्न 'सिन्धु-विकास अभियान' नामक साझा मञ्च गठन गरिएको छ। हाललाई यसको संयोजन गर्ने जिम्मेवारी नेपाल सरकारका पूर्वसचिव पुण्यप्रसाद न्यौपानेलाई दिइएको छ। भौतिक तथा मानव विकास रणनीतिको निर्माणमा सघाउन विकासका साझा अवधारणा कार्यान्वयन गर्ने र सो क्रममा देखापरेका चुनौती संयुक्तरुपमा समाधान गर्ने, दलीय सहअस्तित्वलाई स्वीकार्दै स्वस्थ्य प्रतिस्पर्धाको बातावरण बनाउने, जिल्लावासीको सर्वोत्तम हित निम्ति दलबीचको मतभेदलाई साँघुरो बनाउँदै विकासका मुद्दाहरु सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ।

विकास निर्माणमा भागबण्डा नगर्ने वाचा गर्दै दलहरुले प्रतिबद्धतापत्रमा प्राप्त स्रोत, साधन न्यायोचित प्राथमिकता र पारदर्शी मापदण्डका आधारमा वितरण गर्ने उल्लेख गरेका छन्। 'जलस्रोत, कृषि, पर्यटन, व्यापार, शिक्षा र स्वास्थ्यलगायत साझा सबालमा लगानी एवं सहभागिता प्रबर्द्धनको वातावरण निर्माण गर्न सामूहिक पहल गर्छौं,' दलहरुले प्रतिबद्धता पत्रमा भनेका छन्। त्यस्तै इन्द्रवती जलाशययूक्त बहुद्देश्यीय परियोजना, अरनिको लोकमार्ग विस्तार आयोजना, तातोपानी सुख्खा बन्दरगाह आयोजना, सिन्धु पर्यटन गुरुयोजनाजस्ता बृहद् र राष्ट्रिय महत्वका परियोजना सम्पन्न गर्न 'योगदान' गर्ने वाचासमेत दलहरुले गरेका छन्।
माओवादी इन्जार्च कृष्णप्रसाद सापकोटा, कांग्रेस सभापति मोहनबहादुर बस्नेत, एमाले नेता सुवास कर्मचार्यलगायत आठै दलका नेताले एकै मञ्चबाट महोत्सवले नयाँ दृष्टिकोण र सँगै बढ्ने प्रेरणा दिएको भन्दै त्यसलाई वास्तविकतामा बदल्ने प्रण गरे। 'नेपालको मानचित्रमा सिन्धुपाल्चोकलाई अग्रणी जिल्ला बनाउन कुनै कसुर बाँकी राख्दैनौं,' उनीहरुले सामूहिकरुपमा घोषणा गरे। 'सिन्धुपाल्चोक समृद्धिको आधार, कृषि, पर्यटन, जलस्रोत र व्यापार' भन्ने मूल नाराका साथ सम्पन्न महोत्सवमा छुट्टाछुट्टै विषयगत विधामा विज्ञसहितको बृहद् अन्तर्क्रियापछि दलहरुले प्रतिबद्धता पत्र जारी गरेका हुन्।
शनिबारदेखि पाँच दिन सदरमुकाम चौतारामा चलेको महोत्सवको ४ लाखले अवलोकन गरेको महोत्सव संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसअवधिभर करिब ६ करोड रुपैयाँको व्यापार भएको छ। 'दलको प्रतिबद्धताले निजी क्षेत्र निकै उत्साही भएको छ,' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष रहेका उनले भने।
महोत्सवमा घरेलु उत्पादन, कृषि, हस्तकला, बाँस र निगालोका सामग्री, स्वास्थ्य, कृषि, शैशिक, जलस्रोत, पर्यटन, वित्तीय क्षेत्रका ७० वटा स्टल प्रर्दशनी तथा बिक्रीका लागि राखिएको थियो। तातोपानीको ट्राउट माछा र हिमाली गाउँ दोलसांको लेकाली सिस्नो र ढिडोले महोत्सवमा सबैभन्दा बढी आकर्षण थपेको थियो। करिब डेढ सय सहभागीले हेलिकप्टर चढेर जिल्लाको पर्यटकीय गन्तव्यको अवलोकनसमेत गरेका छन्। जिल्ला विकासको आधार खोजी गर्न आयोजित यो महोत्सव नेपालमै पहिलो भएको आयोजकको दाबी छ।
साभारः नागरिकन्यूज

No comments:

Post a Comment