Wednesday, June 26, 2013

भर्जिन भैरवकुण्ड

जुगल हिमाल
पदयात्रा-
कात्तिकको घमाइलो दिनमा घुम्नुको मज्जा बेग्लै । यस पटक गन्तव्य थियो भैरवकुण्ड । अरनिको राजमार्गको आठ किलो हुँदै भोटेकोसी नदी तरेपछि इको बज्र रिसोर्टका सञ्चालक रामकाजी पौडेल र हल्याण्डका टे«किङ व्यवसायी मार्टिन ओल्थोफ् भेटिए । आठ जनाको समूह आपसमा चिनचानपछि गन्तव्य समात्यौं । 
समूहमा अगाडि रहेर पछाडि क्यामेरा सोझ्याउनु र बाटोमा दृश्य भेटेपछि आहा ! भनेर चिच्याउनुको सान बेल्लै । शरिरको पछाडि झोला, गर्धनमा क्यामरा र हातमा लौरो बोकेर म सबैभन्दा अघि लागेँ । बारीभरि झुलेका कोदो बाला, पहेँलपुर सयपत्री र मखमली । लिस्ति गाविसको बेँसी फाँटलाई दाहिने बनाएर उकालो चढ्दा सबैले चंगा महसुस गरिरहेका छन् । दिउँसो गुम्बा गाउँ नजिक पुगेर बस्ती छोड्दै जंगलको बाटो रोज्यौं । पदयात्रामा दृश्यपान गर्नुको रमाइलो अर्कै हुन्छ ।
छगाम गाउँ भैरवकुण्ड पदयात्राको अन्तिम बस्ती । यहाँ माथि मान्छेको बस्ती भेटिँदैन । भैरवकुण्ड पुग्न आतुर मन । ११ जना सहयोगीलाई अघि लगाएर सुरु भयो दोस्रो दिनको यात्रा । सहयोगीहरुले रसद्पानीको व्यवस्था गरेका छन् । उकालो लाग्दा भैरवकुण्ड पदयात्रा सकेर फर्केका पदयात्री भेटिन थाल्छन् । घनघोर गुराँसको जंगल । चैत–बैशाखमा यो जंगल गुराँस फुलेर राताम्मे बन्छ । बाटैभरि अनगिन्ति चौरी र भेडी गोठ । अहिले भने ती रित्तो छन् । चिसो छल्न चौरी र भेडी मालिक बेँशी झरेका । वर्षको ६ महिना यस्ता खर्क उनीहरुको कर्म थलो हो ।
‘दिस प्लेस इज ह्याभेन,’ सबैभन्दा अघि रहेका भूक्तभोगी टे«किङ व्यवसायी मार्टिन मानेगुल्दुम पुगेपछि चिच्याए । उपत्यका जस्तो देखिने खर्क । उत्तरपूर्वमा तिब्बततिर गौरी पर्वत, उत्तरपश्चिममा दोर्जे लाक्पा हिमाल । मार्टिन चिच्याउनुको कारण खुल्यो । ‘एक देशको पदयात्राका क्रममा अर्को मुलुकको हिमाल पहिलो पटक देख्दैछु,’ नेपालसहित धेरै मुलुकको पदयात्रा गरेका उनले भने । दुई दिनदेखिको हिँडाइले थखतरान शरिरले आराम खोज्यो । ३१ सय मिटर उचाइको मानेगुल्दुमलाई टोलीले क्याम्प बनाउने निधो ग¥यो । रात छिप्पिदै जाँदा सुत्ने बेलामा यहाँको तापक्रम –५ डिग्रीमा झ¥यो । मह मिसाएको रम पियर शरिर ततायौं । सुत्न विदा मागेका मार्टिनले लेक सुरु हुने भएकाले अबको यात्रामा मदिरा नपिउन खबरदारी गरे ।
लेक लाग्ने भएकाले मसरुन सुप पिएर तेस्रो दिनको यात्रा सुरु ग¥यौं । गुराँसको जंगल छोडेर हरर्र आएको धुपी र सुनपातीको बास्नाले स्वागत गरे झैं लाग्यो । जति माथि उक्लियो त्यति रमाइलो र घमाइलो । बाटो भरि थुपारिएका धुपी र सुनपाती । भारी बोकेर बेँशी झरिरहेका मान्छेहरुको लस्कर । पाखैभरि बनस्पति संकलन गरिरहेका मान्छे । यहाँको धुपी र सुनपातीले बजार पाउन थालेकाले स्थानीय आम्दानी लिन पल्केका रहेछन् ।
दिउँसो एक बजेतिर ४२ सय मिटर उचाइमा अवस्थित भैरवकुण्ड पुग्दा के के न जिते झैं लाग्यो । अग्ला चट्टाने पहाडलाई शिर बनाएर फेदीमा लमतन्न सुतेको भैरवकुण्ड । फिस फिस परिरहेको हिउँ । पहाडलाई हिउँले ढाक्दैछ । ५ सय मिटर लम्बाइ र ३ सय मिटर चौडा क्षेत्र ओगटेको कुण्डको वरिपछि पानी जमेर बनेको बरफ । बरफमा उफ्रदैं त्यसलाई फुटाएर हु¥याउँदा बिछट्टै आनन्द । यो कुण्डमा हरेक जनैपूर्णिमाको दिन भव्य मेला लाग्छ । हजारौं भक्तजनले मेला भर्ने हिन्दुधर्मावलम्बीको पवित्र तीर्थस्थल ।
भैरवकुण्ड नै अन्तिम गन्तव्य थिएन । एक दिन अझ टाढा हिँड्नु छ । त्यसैले यो पदयात्रालाई ‘भर्जिन ट्रेक’ नाम दिइएको छ । भेडी र चौरी गोठाला बाहेक भैरवकुण्ड अगाडि कोही नगएकाले यस्तो नाम दिइएको थियो । एक रात भैरवकुण्डमा बिताएर चौथो दिनको यात्रा थाल्दा छाती ह्वास्सै फुलेर आयो । गोडा फत्याकफुतुक्क गले । सबैलाई लेक लागेछ ।
चारै तिर चमक्क चम्केका हिमाल । हातैले छुन सकिने झैं लाग्ने । आँखाले भ्यासम्म देखिने हिमाल । तरेली परेको बेँशी । भैरवकुण्डबाट तीन सय मिटर उक्लेपछि देखिने यी दृश्यले स्वर्गै पुगेको अनुभूति दिलायो । लस्करै उभिएका लाक्पा दोर्जे, जुगल, फुर्पा घेचु र खरानी हिमाल । सिन्धुपाल्चोकका आठमध्ये चार हिमाल एकै थलोबाट हेर्न सकिने । ६ हजार ६ सय ६६ मिटर उचाइको लाक्पा दोर्जे सबैभन्दा अग्लो हिमाल हो ।
यहाँबाट केहीघण्टा तेर्सै अघि बढ्दा जुम्ल्याहा पोखरी भेटिन्छ । जुगल हिमालको काखमा अवस्थित यो पोखरी पवित्र ब्रम्हाणी नदीको एउटा मुहान रहेछ । बाटैभरी साना–ठूला अनगिन्ति ताल, पोखरी कुण्ड भेटिन्छन् । गोठाला बाहेक अरु अहिलेसम्म नपुगेकाले अधिकांशको नाम कसैलाई थाहा छैन । पदयात्री टोलीले ती पोखरीको एकमुष्ट नाम ‘भर्जिन’ कुण्ड जुरायो । ताल र हिमालको दृश्य क्यामारामा कैद गर्दै, हिउँ खेल्दै चौथो रात ठूलोढुंगामा बितायौं । ५ हजार ५ सय ८१ मिटर उचाइको खरानी हिमालको बेसक्याम्प मान्न सकिन्छ ठूलो ढुंगालाई । टोली सदस्य युवा पर्यटन प्रवद्र्धक मिलन तामाङ र दावा शेर्पा भन्छन्, ‘राजधानी नजिक रहेकाले यसलाई हिमाल आरोहण तालिम केन्द्रको रुपमा विकास गर्न सकिन्छ ।’
 एक रात ठूलो ढुंगामा बिताएर टोलीले अर्कोबाटो प्रयोग गरी ढुगुनागढी किल्ला निस्केर पदयात्रा टुंग्यायो । फर्कँदा पनि उत्तिकै आकर्षक र मनोरम दृश्यले मनै लोभ्याउँछ । बिस. १९११–१२ मा भएको नेपाल–तिब्बत युद्धको ऐतिहासिक निशानी हो ढुगुनागढी । नेपाली फौजले यहीँ मोर्चाबन्दी कसेर युद्ध जिेतका थिए ।राजधानी काठमाडौंबाट नजिक रहेको भैरवकुण्ड पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना छ । अरनिको राजमार्गको आठ किलो वा डाक्लाङ झरेर दुई दिनमै भैरवकुण्ड पुग्न सकिन्छ । विदेशी भने साताको प्याकेज बनाएर भैरवकुण्ड पुग्छन् । लिस्तिको छगामसम्म मोटरबाटो पुगेको छ । युद्धकिल्ला दुगुनागढीबाट पनि भैरवकुण्ड पुग्न सकिन्छ । तर फर्कँदा दुगुनागढीको रुट प्रयोगमा ल्याइने प्रचलन छ । भैरवकुण्डबाट डेढ दिनमै राजमार्ग ओर्लन सकिन्छ । छगामसम्म खाना, बस्नको लागि समस्या छैन । त्यहाँमाथि बस्ती नभएकाले खाने र बस्ने प्रवन्ध आफैंले गरेर पदयात्रामा निस्कनु पर्छ । गर्मी सिजनमा भने लेकमा प्रशस्त भेडी र चौंरी गोठ हुन्छन् । कोदोको रक्सी, चौरीको छुर्पी, ध्यू भैरवकुण्ड पदयात्राका कोशेली हुन् । 


खर्कमा चर्दे चौरी । पृष्ठभूमीमा तिब्बतको कैलाश पर्वत

उकालो बाटो, चौरी खर्क र गोठ । गुराँस र लोठ सल्लाको जंगल । पसिनाले निथु्रक्क भिजेको शिरर । उत्तरपूर्वमा टलक्क तिब्बती गौरी पर्वतले थकानको भान हुन दिंदैन । साँझ साढे २५ सय मिटर उचाइको छगाम गाउँमा बास बस्न पुग्दा तातेको शरिर चिसो भयो । लेकमा निकै जाडो बढिसकेछ । झुम्म परेको शेर्पा गाउँ, चिटिक्क बस्ती । गाउँ पारिको जंगलमूनि आनी गुम्बा । सय बढी स–सना घर, टहरा । यहाँ देश÷विदेशमा २ सय ६० आनीहरु रहेछन् । बौद्ध धर्मको शिक्षालय यो अहिले आनी गाउँले चिनिन्छ । भैरवकुण्ड पदयात्राको सुन्दर विशेषता यही हो, छगाम गाउँमा बौद्धधर्मावलम्बीको संस्कृति र एकता हेर्नु र भैरवकुण्डमा डुबुल्कि मारिरहेका हिन्दुहरुको धार्मिक आस्था अध्ययन गर्नु ।

No comments:

Post a Comment