Tuesday, June 25, 2013

बस भिरबाट खसाल्ने चालकको लाइसेन्स नै नक्कली

थाङपालकोट बस दुर्घटना-
सिन्धुपाल्चोक-१४ जना गाउँले ज्यान जाने गरी बस सल्लेभिरबाट खसालेर भागेका चालक माइला तामाङले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बनाएर गाडी चलाउँदै आएको खुलेको छ । पक्राउपछि हिरासतमा राखेर गरिएको दुई साता लामो अनुसन्धानपछि यो तथ्य खुलेको हो । 

वागमती अञ्चल यातायात कार्यालयले तामाङको नाममा जारी लाइसेनस नक्कली रहेको पुष्टि गरेपछि कर्तव्य ज्यान अन्तर्गत सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । ‘चालकको लाइसेन्स नक्कली रहेको पुष्टि भयो । अब कर्तव्य ज्यान मुद्दामा कार्वाही चलाउँछौं,’ दुर्घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका इनस्पेक्टर सुदीपराज पाठकले भने । उनलाई मंगलबार जिल्ला अदालतमा हाजिर गराई अनुसन्धानको लागि १० दिनको म्याद लिएर कार्वाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । 
प्रहरीकाअनुसार तामाङले अञ्चल कार्यालयबाट चार वर्षअघि हलुका (साना) सवारी साधनको लाइसेन्स पाएका थिए । यही लाइसेन्सलाई किर्ते गरी ‘हेभीलाइट’ (ठूला गाडी) समेत थपेर यात्रु बस चलाउँदै आएको पाइएको पाठकले बताए । वागमती कार्यालयले मेलम्चीलाई पठाएको पत्रमा तामाङले २०६६ जेठ ३१ गते हलुका सवारी साधन चलाउन ०६–१८६१०५ नम्बर उल्लेखित अनुमतिपत्र पाएका थिए । घटनास्थलमा भेटिएको लाइसेन्स नम्बर सही भएपनि उनको नाममा ठूला सवारी साधन चलाउने अनुमतिपत्र जारी नभएको कार्यालयले स्पष्ट पारेको छ । 
जेठ १५ गते हिमाली गाउँ भोताङबाट ज्यामिरेको सिम्लेवेसी आउँदै गरेको बा२ख ३६४५ नम्बरको बस थाङपालकोट–१ सल्लेडाँडामा दुर्घटना हुँदा १२ जनाको घटनास्लमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका ४० घाइतेमध्ये अझै केही उपचाररत छन् । बस भिरतिर सोझिएपछि झ्यालबाट हाम फालेर भागेका उनलाई प्रहरीले पाँच दिनपछि १९ गतेराति फटकशीलास्थित घर जाँदै गर्दा पक्राउ गरेको थियो । प्राविधिक गडबडीले दुर्घटना भएको दाबी गरेका उनले लाइसेन्स बसमै हराएको बयान प्रहरीलाई दिंदै आएका थिए । 
स्थानीयले लाइसेन्स घटनास्थलमा भेटेर बुझाएपछि प्रहरीले वागमती अञ्चल यातायात कार्यालयलाई नक्कली÷सक्कलीबारे खुलाइ पठाउन पत्राचार गरेको थियो । स्थानीयले चालक तामाङसँग लाइसेन्स नै नभएको दाबी गरी छानविन गर्न दबाब दिएपछि प्रहरीले यसबारे बुझ्ने प्रक्रिया थालेको थियो । अञ्चल कार्यालयले सोमबार मात्र मेलम्ची प्रहरीलाई पत्रको जवाफ लेखी लाइसेन्स नक्कली भएको जानकारी गराएको हो । हलुका सवारी चलाउन प्राप्त लाइसेन्स हेभी थपेर स्टिकरसमेत टाँसेरकाले यो बनाउँदा मोटो आर्थिक चलखेल समेत भएको हुनसक्ने प्रहरी स्रोतले बतायो । 
घटनापछि फरार रहेका चालक तामाङ सम्वद्ध यातायात सेवा समिति आमा ह्योल्मोका पदाधिकारी मार्फत टेलिफोन सम्पर्कमा आएर तत्काल आत्मसमर्पण गर्ने बताएका थिए । तर उनी सम्पर्कमा नआएपछि लाइसेन्स न नभएको वा नक्कली प्रयोग गरेको अनुमान गरिएको थियो । घटनाका पीडितले फरार तामाङले लाइसेन्स बनाउन  वाग्मती कार्यालयसँग ५० हजार रुपैयाँको प्रस्ताव गरेको सूचना पाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । 
लाइसेन्स नक्कली रहेको पुष्टि भएकाले चालक तामाङलाई ज्यानसहित किर्तेमा पनि मुद्दा चल्ने भएको छ । एकसाथ दुबै मुद्दा अघि बढ्ने इन्स्पेक्टर पाठकले बताए । ५० बढी यात्रु बोकेको बस सल्लेभिरमा खसाल्ने चालक तामाङ विरुद्ध प्रहरीले समान्य सवारी ज्यान मुद्दा चलाउँदै थप अनुसन्धान गर्दै आएको थियो । विना लाइसेन्स बस चलाएर मान्छे मार्ने उद्देश्य राखेको देखिएकाले  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) अनुसार मुद्दा चलाइने पाठकले बताए ।  उक्त ऐनका दफा दफा १६१ (१) ज्यानै मार्ने मनसाय लिइ सवारी दुर्घटना गराइ मानिसको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ । ‘लाइसेन्स नै नभएकाले ज्यान लिने उद्देश्य राखेको आकर्षित हुन्छ,’ उनले भने । 
दुर्घटनामा परेको बस आमा ह्योल्मोका अध्यक्ष कान्छाराम तामाङको हो । लाइसेन्स नै नभएको व्यक्तिलाई बस चलाउन दिएकाले उनीविरुद्ध पनि कार्वाही चल्न सक्ने प्रहरी स्रोतले बतायो । चालक तामाङ लामो समयदेखि यस क्षेत्रमा बस चलाउँदै आएका थिए । 





No comments:

Post a Comment