Monday, April 16, 2012

माझी-दनुवार बालबालिकालाई स्कुल टिकाउन गाह्रो


तस्बिर : पढाई छाडेर पुनः विद्यालय भर्ना भएका भीमटारका माझी दनुवार बालबालिका सोमबार अविर र मालाद्धारा स्वागतपछि ।
ध्रुव दंगाल, भीमटार (सिन्धुपाल्चोक), वैशाख ५- स्थानीय भीमेश्वरी माविको कक्षा ४ पढ्दा-पढ्दै बीचमै छाडेकी सविना दनुवार (१५) फेरि विद्यालय फर्केकी छन्। कक्षा ५ मा भर्ना भएकी उनलाई सोमबार शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले अबिर र माला लगाएर विद्यालयमा स्वागत गरे। 
विद्यालय छाडेपछि इन्द्रावती नदीमा माछा मारेर र खेलेर वर्ष दिन गुजारेकी उनले भनिन्, 'सबैले सम्झाएपछि खुसी भएर विद्यालय फर्केको छु, अब बीचमा छाड्दिनँ।' साथीसंगीको लहैलहैमा लागेर उनले पढाइ छाडेकी थिइन्। स्वागतले हौसिँदै पिछडिएको दनुवार समुदायकी १५ वर्षीया सविनाले दृढतापूर्वक भनिन्, 'बल्ल पढाइको महत्व बुझेकाले जस्तोसुकै अफ्ठेरो आए पनि पढेरै छाड्छु।'




सविनाकी दौंतरी सुनिता दनुवार पनि दुई वर्षपछि विद्यालय फर्केकी छिन्। कक्षा चार उत्तीर्ण भएर पाँचमा पुगेपछि उनी विद्यालय नै गइनन्। 'सबै साथीहरुले छोडेपछि मैले पनि छोडेको थिएँ। अहिले सबै आए म पनि फर्किएँ,' सोही विद्यालयको कक्षा ६ भर्ना भएकी उनले भनिन्। बाबुआमासँग पैसा नभएकाले पनि आफू बीचमै पढाइ छाड्न बाध्य भएको उनले सुनाइन्। 'पहिले कपी कलम किन्ने पैसा हुन्नथ्यो। अहिले पनि अवस्था भने त्यस्तै छ,' उनले महानिर्देशक शर्माकै सामुन्ने आफ्नो पढाइले निरन्तरता पाउनेमा शंका जनाइन्। उनको एकमात्र चाहाना भने पढ्ने नै छ।


साथीसंगीको लहलहैमा लागेर, आर्थिक अवस्था कमजोर भएर तथा बाबुआमाले नजान भनेपछि बीचमै पढाइ छाडेका उनीहरुजस्ता ३० बढी दनुवार तथा माझी बालबालिकालाई महानिर्देशक शर्माले अविरको टीका र माला लगाएर स्वागत गर्दै विद्यालय भित्र्याए। विद्यालय जाने उमेर पुगेर बाहिरै रहेका अल्पसंख्यक तथा पिछडिएका माझी, दनुवार समुदायका बालबालिकालाई शिक्षाको मूलप्रवाहीकरणमा ल्याउन उनी इन्द्रावती नदी किनारको यो गाउँ आइपुगेका हुन्। माझी, दनुवार समुदायको बाहुल्यता रहेको गाउँका त्यस्ता विद्यार्थीलाई स्वागत गर्दै उनले विद्यालय भर्ना अभियानको सुभारम्भ समेत गरे।

भीमटार जिल्लामा सबैभन्दा बढी बालबालिका 'ड्रपआउट' (बीचमै छोड्ने) हुने गाविस हो। ८५ प्रतिशत माझी, दनुवार समुदाय बसोबास भएको गाउँमा भीमेश्वरीसहित दुई निमावि र तीन प्रावि गरी ६ विद्यालय रहेपनि बीचमै पढाइ छाड्नाले बालबालिकालाई टिकाउने चुनौती रहेकाले यहाँबाट भर्ना अभियान थालिएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले बताए।

तथ्यांक अनुसार यी ६ विद्यालयमा वार्षिक ३ सय बालबालिका कक्षा एकमा भर्ना हुने गरेकोमा दुईमा उक्लने ५० पुग्न पनि मुश्किल छ। साढे २ सय बढीले बीचमै पढाइ छाडिसकेका हुन्छन्। गत शैक्षिकसत्रमा २ सय ६९ विद्यार्थीले बीचमै पढाइ छाडेका थिए। चैत महिनाभरी विद्यालय बाहिर रहेका बालबालिकाको लगत उतारेर आइतबारसम्म ३ सय २० जनालाई विद्यालय भर्ना गरिएको छ। भर्ना गरिएकामध्ये बीचमा पढाई छाड्ने १ सय १३ बालबालिकालाई पुनः विद्यालय फर्काइएको छ। गाविसको सबैभन्दा ठूलो विद्यालय भीमेश्वरीले १ सय ३३ बालबालिकालाई भर्ना गरेकोमा पुनः पढाइमा फर्कनेको संख्या ४३ जना छ।

अझैपनि माझी, दनुवार समुदायको मुख्य पेशा इन्द्रवातीमा माछा मार्नु हो। माछा विक्रीबाट हुने आम्दानीबाट उनीहरुले दैनिक गुजारा चलाउँदै आएका छन्। खेतीपातीको काम गर्ने भए पनि उनीहरुको नाममा जग्गा छैन। विगतमा यहाँ उत्पादन हुने मास, मस्याङ, बोडी, र फलफूल दरबार पुग्थ्यो। भीमेश्वरीका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले अभिभावकमा छोराछोरी पढाउनुपर्छ भन्ने चैतना नभएको बताए। 'मैले नपढेर चलेकै छ। छोराछोरीले किन पढ्नु पर्‍यो भन्ने बुझाइ छ,' उनले नयाँ विद्यार्थीलाई विद्यालयमा टिकाउन चुनौती रहेको उल्लेख गर्दै भने।

स्थानीयसमेत रहेका प्रअ श्रेष्ठका अनुसार बाबुआमा बिहानै काममा निस्कने भएकाले बालबालिकालाई समयमै खाना खुवाएर विद्यालय पठाउने घरमा कोही हुँदैन। भोकै बालबालिका विद्यालय आउँदैनन्। भोकै आएका बालबालिका पनि दिउँसो एक बजेको खाजा समयमा खाने निहुँले घर गएपछि विद्यालय सुनसान हुन्छ। 'गाउँमा माछा मार्ने सल्लाह भयो र विहेबर्तुन पर्‍यो भने त्यो दिन विद्यालय नै बन्द हुने गरेको छ,' उनले सुनाए। श्रेष्ठले भने, 'माझी दनुवार बालबालिकालाई विद्यालय ल्याउन सजिलो छ। टिकाइ राख्न हम्मे छ।'

सरकारले दुई वर्षदेखि सिमान्तकृत बालबालिकालाई समेत विशेष छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। घोषित २२ सिमान्तकृत जातीमा माझी र दनुवार पनि पर्छन्। तर यस्तो छात्रवृत्तिले त्यस्ता समुदाय र बालबालिकालाई अझै आकिर्षत गर्न सकेको छैन। जिल्ला शिक्ष अधिकारी गौतमले सिन्धुपाल्चोकमा प्राथमिक विद्यालय उमेरका अझै ४ हजार ६ सय पाँच विद्यार्थी विद्यालय बाहिर रहेको बताए। यसमध्ये यो वर्ष कम्तिमा दुई प्रतिशत बालबालिकालाई विद्यालय भित्र्याउने लक्ष्य रहेको उनले जनाए।
विद्यार्थीलाई टिकाउन गाह्रो-शर्मा
कार्यक्रममा शिक्षा विभागका महानिर्देशक शर्माले बालबालिकालाई भर्ना गराउन भन्दा विद्यालयमा टिकाउन थप चुनौती रहेको बताए। मुलुकभर उमेर पुगेका पाँच प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको उनले जनाए। 'यो वर्ष दुई प्रतिशत बालबासलकालाई विद्यालयको पहुँचमा ल्याउने लक्ष्य छ,' उनले भने।

२०६१ बाट सुरु गरिएको भर्ना अभियानले ८० बाट ९५.५ प्रतिशत बालबालिकालाई विद्यालयभित्र ल्याउन सफल भएपनि अझै चित्तबुझ्दो नभएको उनले बताए। उनका अनुसार वार्षिक ४.५ प्रतिशत विद्यार्थीले बीचमा पढाइ छाड्ने र ११.५ प्रतिशतले दोहोर्‍याउँने गरेका छन्।

www.nagariknews.com

No comments:

Post a Comment