Thursday, April 19, 2012

दलालको उक्साहटमा विदशिँदै महिला


ध्रुव दंगाल, सिन्धुपाल्चोक, वैशाख ८- हातमा एमआरपी फारम बोकेर सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको कार्यकक्षमा छिरेकी गुम्बाकी २८ वर्षीया रूपरानी तामाङ थचक्क टि-टेबुलमा बसिन्। सापकोटाले सोफामा बस्न गरेको आग्रह उनले बुझिनन्। विदेश जाने सुरमा रहेकी उनलाई बुझाउन स्वेदेशमै दोभोसे चाहियो। 



 कराँते प्रशिक्षक छोनाम लामाको सहयोगमा सोफामा बस्दै उनले आफू राहदानी बनाउन आएको बताइन्। दुई दिन पैदल हिँडेर उनी पहिलोपटक सदरमुकाम चौतारा आइपुगेकी थिइन्। ६ र चार वर्षका दुई छोराकी आमा रुपरानीले दोभासेमार्फत् भनिन्, 'काम गर्न विदेश जान खोजेको।' कुन देश जाने, कसरी जाने, के काम गर्ने उनलाई कुनै पत्तो छैन। उनका पति शंकबहादुर दुई वर्षदेखि मलेसियामा छन्। पतिसँग उनको एक पटक पनि फोन सम्पर्क भएको छैन। 
 यतिबेला प्रशासनमा राहदानी बनाउन रूपरानीजस्ता लालाबालाका आमा, निरक्षर महिला र किशोरीको लर्को छ। विदेश जाने प्रक्रिया र त्यहाँ पुगेपछि गर्नुपर्ने कामबारे उनीहरूलाई थाहा छैन। 'विदेशमा राम्रो हुन्छ रे,' रूपरानीले भनिन्। हत्या अभियोगमा उक्त गाउँकै डोल्मा शेर्पा चार वर्षदेखि कुवेती जेलमा छन्। 
 तामाङ, शेर्पा, गुरुङ लगायत जनजाति र दलित समुदायका महिला घरेलु कामदारका रूपमा खाडी मुलुक जाने लहर चलेको छ। यस्ता महिला दलालको विश्वासमा पर्ने गरेका छन्। नागरिकता र राहदानी बनाइदिन दलालहरू प्रशासनमै पुग्ने गरेका छन्। कतिपय महिला अभिभावक लिएर आए पनि अधिकांश एक्लै आउँछन्। रूपरानी दुई पुरुषका साथमा सुरुमा प्रशासन परिसरमा रहेको शक्ति समूहको परामर्श केन्द्रमा पुगेकी थिइन्। सोधपुछको क्रममा बाहिरिएका ती पुरुषबारे उनले कसै गरे पनि मुख खोलिनन्। 
सापकोटाले कसैको आश्वासनमा परेर राहदानी बनाउनेको संख्या अधिक रहेको बताए। उनका अनुसार शंकास्पद लाग्दा बुझ्नका लागि राहदानी रोकिदिए पनि प्रमाण अभावमा केही गर्न सकिएको छैन। अरुको देखासिकी, अशिक्षा र गरिबीका कारण कामको खोजीमा पछिल्लोपटक जिल्लाबाट महिला विदेशिने क्रम बढेको हो। 'गाउँकै दाजुले विदेश पठाइ दिउँला भनेका छन्। उनले विदेश पठाएका गाउँका दिदीबहिनीको राम्रो भएको छ,' फारम भरेको दुई महिनापछि प्रशासनबाट एमआरपी बुझ्दै किउलकी विमला विकले भनिन्। 
 कम उमेरका किशोरीले उमेर बढाएर राहदानी बनाइरहेका छन्। १६-१७ वर्ष उमेर देखिने किशोरीहरू धमाधम २१-२२ वर्षको प्रमाण पुर्‍याएर राहदानी बनाइरहेका छन्। यस्ता धेरै किशोरीलाई प्रशासनले सम्झाएर फर्काउने गरे पनि आउने क्रम घटेको छैन। फर्काइएका किशोरीले भीडको मौका छोप्ने गरेको सापकोटा बताउँछन्। कतिपय अभिभावक र किशोरी त 'छोरी जन्माउने तपाईंकी म? मेरो उमेर अरुलाई कसरी थाहा हुन्छ?' भनेर झगडै गरिरहेका हुन्छन्। 
 कतिपय त अभिभावक र घरपरिवारलाई पत्तै नदिई विदेश जाने गरेका छन्। घरमा नआएपछि सिम्पाल काभ्रेका राज दोङले एक महिनासम्म पत्नी चिनुको खोजी गरे। खोज्दै ससुराली पुगेपछि बल्ल उनले थाहा पाए चिनु त साउनमै दलालमार्फत् बहराइन पुगिसकेकी रहिछन्। नबुझी जाँदा खाडी मुलुकमा नेपाली महिला शारीरिक, मानसिक र यौन हिंसाको सिकार बन्न बाध्य छन्। कतिपयले ज्यानै गुमाउनु परेको छ। यही कारण २९ महिनाअघि मलेसिया पुगेकी सिन्धुपाल्चोककै ३५ वर्षीया शर्मिला गोलेले बाथ रूपमा आत्महत्या गरिन्। साउदी गएको दुई महिनामै गत चैतमा राम्चे-७ की २४ वर्षीया लक्ष्मी खड्का गुरुङको शव आयो। परिवारले अझै उनको मृत्यको कारण थाहा पाउन सकेको छैन। 
 जिल्लाका सबै गाउँबाट महिला विदेशिएका छन्। मध्य क्षेत्रको सिम्पालकाभ्रे, गुम्बा, गोल्चे र पश्चिमी भेगको हेलम्बु, भोताङ, बरुवा, धाङपालकोट, गुन्सा, भोटेनाम्लाङ, बाँसखर्क, किउलका धेरै महिला विदेशिनेका छन्। महिला विदेश नजाने गाउँ कमै छन्। जिल्ला निर्वाचन कार्यालयले गत वर्ष फोटोसहितको मतदाता नामावली संकलन गर्दा उतारेको लगतअनुसार वैदेशिक रोजगारीमा रहने सिन्धुपाल्चोकबासीको संख्या साढे १७ हजार छ। यसमा महिलाको संख्या झन्डै आधा छ। 
 जिल्ला प्रशासनबाट अहिले दैनिक ३५-४० वटा एमआरपी वितरण भइरहेको छ। यो संख्यामा ४५ प्रतिशत महिला हुने गरेको राहदानी फाँटका कर्मचारी प्रकाश थापाले बताए। जिल्लामा २०५४ सालदेखि राहदानी वितरण थालिएकोमा गत कात्तिकबाट एमआरपी बाँड्न सुरु गरिएको थियो। हालसम्म झन्डै २५ हजार महिलाले राहदानी लिएको प्रशासनको तथ्यांक छ।
www.nagariknews.com

No comments:

Post a Comment