Tuesday, March 13, 2012

एक विद्यालय, एक 'दिवास्वप्न'


ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन ३०- 'दिवास्वप्न पुस्तकको नाम कतिजनाले सुन्नु भएको छ?' थुम्पाखरस्थित महेन्द्रोदय उच्चमाविका सबै शिक्षकलाई भेला गरेर जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सोधे। विद्यालय अनुगमनमा पुगेका जिशिअ गौतमको यस्तो प्रश्न सुनेर अधिकांश अक्कमक्क परे। बीचबाट हात उठाउँदै एक शिक्षिकाले भनिन्, 'सुनेको मात्र होइन, पढेकै छु सर। प्रत्येक शिक्षकले यो पुस्तक पढ्नै पर्छ।'

'एक विद्यालय, एक दिवास्वप्न' अभियान लिएर केही दिनअघि त्यहाँ पुगेका गौतमले पुस्तक थन्किएको थाहा पाएपछि सबै शिक्षकलाई आलोपालो गरी पढ्न निर्देशन दिए। 'सिकाइ अब परम्परागत ढर्रामा चल्न सक्दैन। शिक्षक समयसापेक्ष हुनुपर्‍यो। दिवास्वप्न पढ्नुस् पक्कै तपाईहरूलाई सुधार्नेछ,' उनी शिक्षक-शिक्षिकालाई आग्रह गर्दै थिए।


जिल्ला शिक्षा कार्यालयले सिन्धुपाल्चोकका सबै ६ सय सामुदायिक विद्यालयमा यो पुस्तक पुर्‍याएको छ। दुई महिनादेखि चलाएको 'एक विद्यालय, एक दिवास्वप्न' अभियानपछि पुस्तक प्रत्येक विद्यालयमा पुगेको हो। सम्बन्धित विद्यालयको खर्चमा शिक्षा कार्यालयले वितरण र व्यवस्थापन हेरेको थियो। स्रोत व्यक्ति र विद्यालय निरीक्षकमार्फत् सबै विद्यालयमा 'दिवास्वप्न' पुगिसकेको कार्यालयले जनाएको छ।

पुस्तक शिक्षकका लागि बढी सान्दर्भिक मानिएकाले सबै विद्यालयमा वितरण गरिएको जिशिअ गौतमले बताए। 'यो पुस्तकले शिक्षकलाई विद्यार्थी केन्द्रित सिकाइमा जोड दिएको छ। विद्यार्थीलाई आफैं अभ्यास गरेर सिक्न अभिप्रेरित गर्छ,' पुस्तकको महŒव र विशेषता बताउँदै उनले नागरिकसँग भने।

भारतीय स्रष्टा गिजुभाई (गिरिजाशंकर) ले ७० वर्षअघि यो पुस्तक लेखेका हुन्। अनुभव र प्रयोगका आधारमा तयार पारिएको यो पुस्तकले बालबालिकालाई कसरी पढाउने, बालमैत्री वातावरण कसरी कायम गर्ने लगायत विधि र तरीका सिकाएको छ। पत्रकार शरच्चन्द्र वस्तीले नेपालीमा अनुवाद गरेको यो पुस्तक शिक्षक मासिकले प्रकाशित गरेको हो।

हालः अभ्यासमा रहेको शिक्षक केन्द्रित पद्धतिलाई बालकेन्द्रित सिकाइमा ढाल्न पुस्तक अचुक औषधी रहेको जिशिअ गौतमको टिप्पणी छ। उनकाअनुसार पुस्तक पढेपछि शिक्षकलाई नयाँ विचार र सकारात्मक सोच दिनेछ। 'शिक्षक-शिक्षिकालाई अध्ययन गर्ने बानी विकास गराउन पनि विद्यालयमा यो पुस्तक पुर्‍याउनुपरेको हो,' उनले पढाउने शिक्षकले नै घरमा नपढ्ने प्रवृत्ति रहेको बताए।

शिक्षिका निर्मला तिमिल्सिनाले 'दिवास्वप्न' दुईपटक पढेको बताइन्। ज्ञानमन्दिर नमुना मावि मेल्चौरकी शिक्षिका उनले भनिन्, 'यो पुस्तक पढेपछि बिना ज्ञान, सीप शिक्षण पेशामा हाम फालेछु जस्तो लाग्यो।' पुस्तक पढ्न थालेपछि बीचमा छाड्नै मन नलाग्ने अनुभव सँगालेकी उनले निष्कर्ष सुनाइन्, 'यो पुस्तक त शिक्षाको गीता रहेछ।'

प्रत्येक विद्यालयमा पुस्तक वितरणपछि शिक्षा कार्यालय यतिबेला त्यसको प्रयोग र प्रभावकारिता जाँच्न विद्यालय दौडाहामा छ। दोलखामा रहँदा चलाइएको 'एक विद्यालय एक दिवास्वप्न' प्रभावकारी भएको अनुभवका आधारमा जिशिअ गौतमले यहाँ पनि यो अभियान चलाएका हुन्। यसअघि उनी दोलखामा जिशिअ थिए। 'पहिले र अहिले मैले कक्षामा पढाउने तरिका र विधिमै फरक पर्न गएको छ। विद्यार्थीले अझ राम्ररी बु‰न थालेको जस्तो लाग्छ,' हीरादेवी मावि शिखरपुरका प्रधानाध्यापक गणेश दाहालले पुस्तक पढेपछिको अनुभव सुनाउँदै भने।

www.nagariknews.com

No comments:

Post a Comment