Tuesday, July 9, 2013

फरासिला मेमे र इबी

अधिकांश समय हिउँले ढाक्ने क्षेत्र । एकै छिनमा आकाश छ्यांग खुल्छ, एकै छिनमा उघ्रन्छ । कात्तिक÷मंसिरको घमाइलो दिन । चारैतिर हरियाली । माथि–माथि हिउँले खाएका पहाड । पहाडको काखमा झुम्म बस्ती । गाउँले परिवेश कायम राख्दै आकर्षक शैलीमा बनेका घर । ध्वजापतकाले रंगिएका घरका छाना र आँगन । पसिनामा रुझ्दै हिंडिरहेका पदयात्री । जति माथि उक्लियो, त्यति चिसो, उति नै रमाइलो बातावरण, उकाली ओराली हिंड्डाको थकान बिर्साउने ।


शेर्पाहरुको सुन्दर बस्ती हेलम्बु पुग्दा रोमान्चित बनेको मनले के–के न जितेझैं ठान्छ । पहाडको फेदीमा खोंच बनाएर बगिरहेको मेलम्ची खोला । जसले राजधानीबासीको प्यास मेटाउने आशा जगाएको छ । खोलाको पारी मेलम्चीघ्याङ, वारी नाखोते, तार्केघ्याङ र घ्याङगुल गाउँ । त्यहाँबाट तेर्सै केही अघि बढ्दा गाविस फरक भएपनि हेलम्बु क्षेत्रकै शेर्माथान र ककनी गाउँ पुगिन्छ । १५ सय मिटर उचाइमा सफाचट् बस्ती । फराकिलो मनका मेमे, इबी र शेर्पिनीको सत्कारले टाढा पुगेको भान हुनै नदिने । चौंरीको घ्यूमा झानेको रक्सीको चुस्कीमा शेर्पिनीसँग जिस्किनु र मेमे, इबीसँग गफ्फिनुको मजै बेग्लै ।
सिन्धुपाल्चोकको पश्चिमी गाउँ । लामटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र । तीनवटा रुट प्रयोग गरेर हेलम्बुको पदयात्रा गर्न सकिन्छ । सुन्दरीजल, चिसापानी हुँदै ४ दिनमा हेलम्बु पुगिन्छ । नुवाकोटको ककनी, धुन्चे, गोसाईकुण्ड डुलेर ८ दिनमा हेलम्बु क्षेत्र छिचोलिन्छ । साँखु–मेलम्ची पदयात्राको सबैभन्दा छोटो रुट हो । यो रुटबाट २ दिनमै हेलम्बु निस्कन सकिन्छ । जुन रुट प्रयोग गरेपनि बाटोमा मनोरम दृश्य देख्न सकिन्छ । मेलम्ची आयोजनाले हेलम्बुको पहिलो बस्ती तिम्बुसम्म मोटरबाटो बनाइ दिएको छ । यहाँसम्म नियमित मोटर चल्छ । तिम्बुबाट मेलम्चीघ्याङसम्म गाउँलेले खनेको बाटोमा गत वर्षदेखि मोटर चल्न थालेको छ । बर्खाले बाटो बिगारेकाले अहिले भने चल्दैन । गाउँले बाटो खुलाउन व्यस्त छन् । बाटैभरि तिम्बुदेखि चुईचुईती नुन, तेल, मसलाका भारी बोकेका गाउँले भेटिन्छन् ।
हेलम्बु पर्यटकीय गाउँ । लौरोलाई साथी बनाएर थुप्रै विदेशी पर्यटक हिंडिरहेका हुन्छन् । असोज÷कात्तिक÷मंसिर तीन महिना हेलम्बु पदयात्राका लागि उत्तम समय । त्यसपछी हिउँले छोप्ने भएकाले चिसोका कारण पदयात्रा सम्भव छैन । फागुनदेखि बैशाखसम्मको समयलाई पनि पदयात्राका लागि उपयुक्तै मानिन्छ । दर्जनको हाराहारीमा होटल, रेस्टुराँ, चिसो र तातोपानी सुविधासहितका । एकै होटल, रेस्टुराँ सय जनासम्म अटाउने क्षमताका छन् । बसाई, खुवाईमा ठगिएला भन्ने चिन्ता लिनु पर्दैन । सबै होलट, रेस्टुराँमा एकै दर कायम छ । विदेशी र नेपालीका लागि छुट्टाछुट्टै दर छ । नेपाली सस्तोमा खान, बस्न पाउँछन् । कन्टिनेन्टल खानादेखि, आलुका परिकार, सिस्नोको तरकारी र ढिंडो, रक्सी, वियर, वाइन खान पाइन्छ । खर्च आफैंमा भरपर्छ । एक दिनको यात्राका लागि १ हजारदेखि १५ सय रुपैयाँ काफी छ । होटल, रेस्टुराँको खुवाइ, बसाई महंगो लागे होमस्टेमा बस्न सकिन्छ । विदेशी पर्यटकले होटल, रेस्टुराँ भरिन थालेपछि नेपालीलाई अफ्ठेरो नपरोस भन्नाका लागि यसै वर्षबाट होमस्टे सुरु गरिएको हो । हाललाई यो सुविधा तार्केघ्याङमा मात्र छ । साकाहारी खानामा भने चित्त बुझाउनु पर्ने हुनसक्छ । शेर्पा समुदायमा काटमार चल्दैन । तपाईं आफैं बध गर्न तयार हो भने मासुका परिकार उनीहरु बनाइदिन्छन् ।
हेलम्बु क्षेत्रका बासिन्दा आफूलाई ह्योल्मो भन्न रुचाउँछन् । गाउँमा आउने हरेक पाहुनालाई उनीहरु खादा ओढाएर स्वागत गर्छन् । ह्योल्मो संस्कृति यहाँको मैलिक विशेषता हो । शेर्पा नाचगान देखाएर पर्यटकको सत्कार गर्न ह्योल्मोहरु खप्पिस छन् । शेर्पा भाषमा बाजेलाई मेमे र बज्यैलाई इबी भनिन्छ । उनीहरु मेमे र इबी भनेर बोलाउँदा असाध्यै खुशी हुन्छन् । मेमे, इबी ह्योल्मो संस्कृति, रितिरिवाज र रहनसहनका ज्ञाता हुन । हेलम्बुमा पहिले प्रसस्त स्याउ खान पाइन्थ्यो । अहिले भने पाइदैंन । हेलम्बुलाई अझैपनि ‘स्याउको सहर’ ले चिनिने गरेपनि १९ वर्षदेखि यहाँ स्याउ फलेको छैन । गुम्बाको सहर भन्दा भने फरक पर्दैन । साना–ठूला गरी ३० को हाराहारीमा गुम्बा छन् । आकर्षक कलाकृतिका गुम्बाभित्र बुद्धका मुर्ती छन् । ती निकै आकर्षक छन् । ‘म हेलम्बुको सुन्दरता र यहाँ पदयात्रा गर्नुको रोमान्चकतालाई शब्दमा व्यक्त गर्नै सक्तिन’, मेलम्चीघ्याङमा भेटिएका फ्रान्सेली नागरिक एलेक्सी भिनेटले भने ।

No comments:

Post a Comment