Wednesday, February 15, 2012

सुशासन अनुगमन टोलीलाई सहभागीले भने, 'सिंहदरबारमै कुशासन छ'

ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन ३-
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको सुशासन अनुगमन टोलीलाई सिंहदरबार मै सुशासन नभई कुशासन भएको आरोप लगाउँदै र्‍याखर्‍याख्ती पारिएको छ। सहभागीले कहिले कविता त कहिले भनाइमार्फत् सरकारको कटाक्ष गर्थे, टोली अलमलमा पर्थ्यो।



'प्रधानमन्त्री नै हत्यारा सभासद्को संरक्षण गर्छन्। मन नपर्ने कर्मचारी सरुवाका नाममा फालिन्छन्। सभासद् नै फिरौती, अपरहण काण्डमा फँसेका छन्। अब तपाईहरु नै भन्नुस् सुशासन कहाँ छ?' प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको सुशासन अनुगमन टोलीलाई बुधबार कांग्रेस नेता टंक कार्कीले कटाक्षसहित प्रश्न गरे।


उनले सुशासन स्थानीय तहमा नभएर पहिला केन्द्रमै कायम गर्ने विषयमा प्रधानमन्त्रीलाई सुझाउन टोलीलाई आग्रह गरे। उनले भने, 'सिंहदरबारमै सुशासन छैन सरकारै कुशासनमा चलेको छ।'

जिल्लामा सेवा प्रवाहको स्थिति, विकास निर्माणका सवाल र समस्या तथा गुनासो व्यवस्थापनको अवस्था बुझ्न तीन सदस्यीय अनुगमन टोली मंगलबार यहाँ आइपुगेको थियो। स्थानीय राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र सरकारी अधिकारीसँग बुधबार एकै थलोमा जिल्लामा सुशासनको अवस्थाबारे जिज्ञासा राखेको गृह सहसचिव हरिराज पन्त नेतृत्वको टोलीलाई उनीहरुले उल्टै र्‍याखर्‍याख्ति पारे।

सिंहदरबारबाटै सुशासनको थिति बसाल्न सहभागीले टोलीलाई आग्रह गरे। 'यो सुझाव प्रधानमन्त्रीसम्म पुर्‍याइ दिनु होला। सिंहदरबारमा सुशासन कायम नभएसम्म अन्यत्र सम्भव छैन,' उनीहरुको सामूहिक भनाईं थियो। जिविसका पूर्वसभापति सरेश नेपालले सरकारी सेवा, सुविधा सर्वसाधरणको पहुँच बाहिर रहेको बताए।

सहभागीले जिल्ला विकास, सडक डिभिजन र मालपोतबाट सम्पादन हुने काममा सबैभन्दा बढी भ्रष्टार, बेथिति रहेको जानकारी गराए।

अनुगमन टोलीको नेतृत्वकर्ता सहसचिव पन्तले आएका गुनासा र सुझावको प्रतिवेदन बनाइ प्रधानमन्त्रीलाई बुझाउने बताए। यो वर्ष १५ जिल्लामा सुशासनको अवस्था अनुगमन गर्ने कार्यक्रम अनुसार अनुगमन भइरहेको बताए। 'यो अनुगमन कमजोरी सच्याउन र कार्यान्वयन गर्न कै लागि हो,' उनले जिकिर गरे।

from : www.nagariknews.com

No comments:

Post a Comment