ध्रुव दंगाल
सिन्धुपाल्चोक, साउन ९
‘तिमीहरु बेचिएर फर्केका । एनजिओ चलाउन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ? एनजिओ चलाउन त पूँजी चाहिन्छ । बेचिएकालाई कसले पत्याउँछ, खै पैसो ? पढेका पनि छैनौं, तिमीहरुले काम गर्न सक्दैनौ । संस्था दर्ता हुँदैन, त्यसैले गए हुन्छ ।’
बुधबार शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङको दिमागमा १६ वर्षअघि संस्था दर्ता गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्दा त्यहाँका अधिकारीले भनेका तिखा बचन फिल्मका ‘रिल’ झैं फनफनी घुमे । सरकारले समेत नपत्याएको यही संस्था शक्ति समूहले एशियाको नोवेल पुरस्कार मानिने म्यागासेसे अवार्ड पाउने घोषणा भएको छ ।
‘डेढ दशक लामो लडाईँको जीत हो यो अवार्ड,’ १६ वर्षको कलिलो उमेरमा बेचिएकी समूहकी संस्थापक चरीमायाले गर्वका साथ भनिन्, ‘अवार्ड पाउने घोषणाले बेचविखन विरुद्ध नयाँ अध्याय सुरु भएको छ ।’ रोमन म्यागासेसे अवार्ड फाउण्डेशनले बुधबार शक्ति समूहसहित दुई संस्था र तीन व्यक्तिलाई उक्त अवार्ड दिने घोषणा गरेको हो । १७ वर्षअघि विभिन्न सामाजिक संस्थाले भारतबाट उद्दार गरी ल्याएका १ सय २८ महिलामध्ये १५ जना बेचविखखन प्रभावित साहसी चेलीले ले सुरु गरेको संस्था हो शक्ति समूह ।
१५ जनाले सुरु गरेको संस्थामा अहिले १ सय ६५ प्रभावित चेली सदस्य छन् । झण्डै ५ सय प्रभावित चेली संस्थाको प्रत्यक्ष सम्पर्कमा छन् । हालसम्म ४ सय प्रभावित चेलीलाई समाजमा पुनःस्थापित गराइसकेको चरीमाया सुनाउँछिन् । संस्थापक सदस्य हुँदै दुई कार्यकाल नेतृत्व प्रदान गरेकी उनी आफैं यही संस्था मार्फत समाजमा पुनःस्थापित हुन सकेकी हुन् ।
२०५३ को साउनमा विभिन्न सातवटा गैरसरकारी संस्थाले चरीमायासहित उनी जस्ता १ सय २८ महिलालाई भारतबाट उद्दार गरी फर्कायो । ‘किन हो त्यतिबेला नेपाल सरकार उद्दारको विपक्षमा उभिएको थियो,’ चरीमाया भन्छिन् । फर्काइएका चेली ओरेक, नवज्योती, सिविन, एबिसी र महिला पुनःस्थापना लगायत उद्दारमा सघाउने सात संस्थामा आवद्ध भइ बसे । ओरेक, नवज्योती, सिविन र एबिसी चार संस्थामा आवद्ध प्रभावित चेलीका लागि २०५४ मा १० दिने मनोसामाजिक कार्यशाला आयोजना गरियो । तालिमको अन्तिम अर्थात १० औं दिन कार्यशालामा सहभागिमध्ये १५ चेलीले एउटा समूह गठन गरे । उनीहरुले समूहको नाम दिए, शक्ति समूह । पूजा मिजार समूहकी अध्यक्ष चुनिइन्, अरु सदस्य ।
‘पटक(पटक मरेर बाँचेको पीडालाई शक्तिमा बदल्न यो नाम जुराएका थियौं,’ चरीमाया विगत सम्झिन्छिन् । समूहको नाम जुरेपछि संस्था दर्ताको प्रक्रिया पूरा गरेर दर्ताको लागि चरीमाया समूह लगत्तै काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्यो । तर संस्था दर्ता गरिएन । ‘हामीलाई त मान्छे नै नभएको जस्तो व्यवहार भयो । उल्टो हतोत्साही बनाउने काम प्रशासनबाट हुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘लगातारको दबावले निवेदन दिएको चार वर्ष लागेपछि २०५६÷५७ मा बल्ल संस्था दर्ता भयो ।’
बेचविखन प्रभावित चेलीलाई त्यतिबेला ज्यादै नकरात्कम दृष्टिले हेरिन्थ्यिो । छिछी र दुुरदुर गरिन्थ्यो । त्यसैले अधिकांशले सुरुका दिनमा नाम परिवर्तन गरेर सार्वजनिक हुनु परेको थियो । चरीमायाको उपनाम थियो अनु थापा । सम्वन्धित जिल्लामा दलाल विरुद्ध कानुनी लडाईँ थाल्दै उनीहरुले संगठन अघि बढाए । उद्दारपछि दलाल विरुद्ध कानुनी लडाई थालेकी चरीमायाको घाउमा २०५४ मा थोरै भएपनि मल्हम लाग्यो । आफूलाई बेच्ने दलाललाई १० वर्ष जेल पठाउन उनी सफल भइन् । सिन्धुपाल्चोकको विकट गाउँ हैवुङकी उनी छिमेकीबाट २०५० मा बेचिएकी थिइन् । जिल्ला अदालतको निर्णयलाई पुनरावेदनले सदर गरेपनि उनले ढुक्कको अनुभूती गर्न भने पाइनन् । ‘दलाहरु २०६४ मा जेलमूक्त भएपछि मैले फेरि उनीहरुविरुद्ध संकर्ष गर्नु प¥यो । जेलबाट निस्कनासाथ उनीहरुले मेरा भाइहरु माथि आक्रमण गरे । मैले खम्बा बनेर उनीहरुलाई परास्त गरेँ । संस्थामा दत्तचित्त भएर लागिरहेँ,’ उनले संघर्षका कठिन दिन सुनाइन् । आफूले जस्तै समूहका सबै सदस्यले यस्तै संघर्ष गर्नुपरेको उनी सुनाउँछिन् ।
२०५७ मा छिमेकी गाउँ सिन्धुकोटमा बिवाह गरेकी चरीमाया सन् २०११ मा अमेरिकी सरकारद्धारा ‘आधुनिक युगमा दासता अन्त्य गर्न लागि परेकी नायिका’ उपाधिद्धारा सम्मानित भइन् । त्यतिबेला समूहकी अध्यक्ष रहेकी उनलाई तत्कालिन अमेरिकी विदेशमन्त्री हिलारी क्ल्न्टिनले सम्मानित गरेकी थिइन् । अहिले उनी जस्तै प्रभावित चेली सुनिता दनुवार समूहकी अध्यक्ष छिन् । संस्थापक अध्यक्ष मिजार सन् २००५ मा अमेरिका पुगेर अहिले त्यही स्थापित भएर बसेकी छिन् ।
राजधानीको धुम्बाराहीमा संस्थाको केन्द्रीय कार्यालय छ । बेचविखन प्रभावित जिल्लामा सम्पर्क कार्यालय छन् । सम्पर्क कार्यालयबाट विदेश जाने महिलालाई परामर्श दिंइदै आइएको छ । मानव बेचविन नियन्त्रण गर्ने र आपतमा फसेर चेलीलाई समाजमा पुनःस्थापना गर्ने दुई उद्धेश्य समूहले बोकेको छ । विभिन्न दातृ निकायको सहयोगमा संस्था चल्दै आएको छ । पछिल्लो समय नेपाल सरकारले पनि पुनःस्थापना केन्द्र सञ्चालनमा केही आर्थिक सहायाता उपलब्ध गराउँदै आएको चरीमाया बताउँछिन् । समूहद्धारा राजधानीमै बेचविखन प्रभावित चेलीलाई राख्न गोप्य स्थानमा सुरक्षा आवासगृह र पुनःस्थापना केन्द्र सञ्चालनमा छन् । सन् २००४ देखि सञ्चालनमा ल्याइएका गृह र केन्द्रमा अहिले भारतबाट उद्दार गरेर ल्याइएका २५ चेली छन् । यहाँबाट उनीहरुका लागि मनोसामाजिक तालिम, आयआर्जन तालिम, शिक्षा लगायत गतिविधि सञ्चालन हुँदै आएको छ ।
समूह विशुद्ध बेचविखन प्रभावित महिलाहरुको संस्था हो । जसको नेतृत्व उनीहरुबाट मात्रै हुँदै आएको छ । चरीमाया उत्साही हुँदै थप्छिन्, ‘अवार्डले दासता विरुद्धको लडाईँ जारी राख्न ठूलो प्रेरणा दिएको छ ।’
नागरिक दैनिकबाट
No comments:
Post a Comment